Logo
Logo

निगममा फाइल गायब



काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारी अहिले घरमा बसेर के गर्दै होलान् भन्ने लागेको हुनसक्छ । खुरापाती दिमागका अधिकारी घरमा चुप लागेर त्यसै बसेका छैनन्, उनले निगमका महत्वपूर्ण फाइलहरूको ‘कपी’ घरमा ल्याएका छन् ।

निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारी

ती ‘कपी’हरू अहिले कुनै न कुनै मिडियाबाट बाहिरिँदै छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहनापोखरीस्थित उनको घरमा छापा मार्ने हो भने निगमबाट हराएका महत्वपूर्ण फाइल उनको घरमा भेटिन सक्ने निगम स्रोतले बताएको छ ।

स्रोतका अनुसार निगमका निमित्त महाप्रवन्धक दिपु ज्वारचनमाथि अख्तियारले गरेको छानबिन प्रतिवेदन अधिकारीले एक दैनिकलाई दिएका छन् । अख्तियारले गत वैशाख ७ गते निगमका तत्कालिन अप्रेशन डाइरेक्टर ज्वारचनमाथि सोधिएको प्रश्नको जवाफ अधिकारी आफैँले अख्तियारमा पठाएका थिए । उनले अख्तियारलाई के जवाफ पठाएका थिए भन्ने कुरा उक्त दैनिकबाट सार्वजनिक भएको छ ।

निगमका कार्यरत रहँदा देखिनै आफ्ना विरोधीलाई आफैँले अख्तियारमा बेनामे उजुरी हाल्ने र दुःख दिने उनको पुरानै बानी हो । अख्तियारमा ज्वारचनविरुद्ध आफैँले उजुरी हालेर उनलाई भ्रष्टाचारमा फसाउन खोजेपछि अधिकारी र ज्वारचनबीच विवाद उत्पन्न भएको निगम स्रोतले बताएको छ ।

निगमभित्र भएका अनियमितता र भ्रष्टाचारको विषयमा कार्यकारी अध्यक्षको हैसियतले निगम कर्मचारीहरू माथि कारबाही गर्नुपर्नेमा अधिकारीले अख्तियार गुहार्न पुगेको घटनाले अधिकारी कति ‘घटिया’ नियतका व्यक्ति हुन भन्ने छर्लंग हुन्छ ।

निगम स्रोतका अनुसार तत्कालीन महाप्रबन्धक मदन खरेलविरुद्ध न्यारोबडी खरिदको फाइल पनि अधिकारीले अख्तियार पु¥याएका थिए । त्यही डरले खनालले राजीनामा दिएर रातारात देश छाड्नुपर्ने अवस्था आएको निगम कर्मचारीहरूको भनाइ छ । अधिकारीमाथि तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि पनि कालोमोसो दल्ने र कार्यकक्षमै हातपात गर्न लगाएको आरोप छ ।

निगम कर्मचारी स्रोतका अनुसार अधिकारीमाथि अख्तियारले छानबिन सुरु गरेको छ । दोहामा बिग्रिएको इन्जिन मर्मत गर्दा अधिकारीले करोडौँ कमिशन खानुका साथै कम मूल्य अंकित गर्ने कम्पनीलाई इन्जिन मर्मतको ठेक्का नदिई दिनेश श्रेष्ठ भन्ने दलालको इजरायली कम्पनीलाई एयरवस ३२० को इन्जिन ठेक्का दिइएको थियो ।

मन्त्रालय स्रोतका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले अधिकारीमाथि गरेको छानबिन प्रतिवेदन यसै साता मन्त्रिपरिषद बैठकमा पेश गर्दै छ । त्यसपछि मन्त्रिपरिषद्बाट अधिकारीलाई कार्यकारी अध्यक्षबाट बर्खास्त गरेर उनीमाथि भ्रष्टाचारको अभियोगमा कारबाही चलाइने मन्त्रालय स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्