Logo
Logo

६ महिनापछि खुल्याे इजरायलको रोजगारी



इजरायलको रोजगारी ६ महिनापछि सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका नेपालका युवा इजरायल जान पाउने भएका हुन् ।

इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार छलफल गरेका थिए । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारका रुपमा १ हजार १७५ जना कामदार छनौट भएका छन् ।

त्यसमध्ये करार सम्झौता भई २९७ जना कामदार भने यसअघि नै गइसकेका छन् । ‘अब जाने श्रमिकको पुनः स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनु पर्ने छ । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद ६ महिना नाघेका व्यक्तिले मात्र लगाउर्नु पर्नेछ । इजरायल जान श्रमिकले गर्नुपर्ने प्रक्रियाका बारेमा बिहीबार सूचना सार्वजनिक हुनेछ,’ महानिर्देशक पौडेलले भने ।

इजरायल पक्षले चाँडो भन्दा चाँडो छनोट भएका नेपाली श्रमिकलाई पठाउन अनुरोध गरेपछि नेपाल पक्षले गर्नुपर्ने थप प्रक्रियाको तयारी समेत शुरु गरेको विभागले जनाएको छ । पुनः गर्नुपर्ने स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी/एड्स, टिबि लगायतका रोगको स्वास्थ्य परीक्षण गरिने विभागले जनाएको छ ।

इजरायलको श्रम विवाद समाधान भएपछि केही दिनभित्र भिषा तथा बाँकी रहेको सम्झौतापत्रका सम्बन्धमा काम गरिने छ । विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ ।

एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्