Logo
Logo

अपर अरुण आयोजना: लाभको पर्खाइमा सङ्खुवासभावासी



काठमाडौं । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

‘लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ, स्थानीयवासीलाई लगानीको संरचना तोकौँ’, उनले भने । थपलियाले अपर अरुणमा सकेसम्म बाह्य लगानी निरुत्साहित गरी आन्तरिक लगानी गर्नसके देशलाई फाइदा पुग्ने बताए । स्थानीय तहको दायित्व र जिम्मेवारीको बन्दोबस्त गरी निर्माण सुरु हुने अवधि तोकेर अगाडि बढ्न उनको सुझाव छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले अपर अरुणलाई सरकार र स्थानीयको संयुक्त लगानी गर्ने आधारसहित नीति निर्माण बनाएर अगाडि बढाउनुपर्ने बताए । अपर अरुणमा लगानी सुरक्षित र प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड छ । सङ्खुवासभा कांग्रेस सभापति दीपक खड्काले नेपालको गौरवको आयोजना अपर अरुण निर्माणमा आवश्यक पर्ने ऐन, कानुनका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

‘दिनभरि काम गरेर साँझ बिहान पेट पाल्ने सङ्खुवासभावासीको लगानी अपर अरुणमा कसरी सुरक्षित गर्न सकिन्छ, यसबारे यो आयोजनाले सोच्नुपर्छ, सङ्खुवासभावासी धनी हुन्छन् भने किन सरकारले सहुलियत दरमा ऋण नदिने ?’, उनले भने । कांग्रेस नेता तारामान गुरुङले सोच विचार गरेर अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताए । एमाले सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष हेमराज घिमिरे र नेकपा (माओवादी केन्द्र) सङ्खुवासभाका सहइञ्चार्ज रीपुप्रसाद राईले अपर अरुण आयोजना सङ्खुवासभाको हितमा हुनुपर्ने बताए ।

सो आयोजनालाई अगाडि बढाउन आ–आफ्नो दलको पूर्ण साथ र सहयोग रहने उनीहरूको भनाइ थियो । ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले स्थानीयको हित हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । पूर्वराजदूत डा. अर्जुन कार्कीले अपर अरुणलाई सकेसम्म स्वदेशी लगानीमा नै सम्पन्न गर्नुपर्ने धारणा राखे ।

स्थानीय बासिन्दाले कम शुल्कमा बिजुली पाउने र लगानीको सुरक्षा हुने गरी अपर अरुणलाई अगाडि बढाउनुपर्ने हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका कार्यकारी निर्देशक अर्जुनकुमार गौतमले बताए । आयोजना सङ्खुवासभावासीको स्वामित्वमा बन्नुपर्ने निजी उर्जा उत्पादक सङ्घ (इपान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ । आयोजना बन्ने स्थानीय तह भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सरकारले स्वामित्व लिनुपर्ने उक्त आयोजना चाँडो बन्नुपर्ने बताए ।

आयोजना निर्माणका लागि भोटखोलाका बासिन्दाको पूर्ण साथ र सहयोग रहने उनको भनाइ छ । जिल्ला समन्वय समिति र स्थानीय लगानी परिचालन समिति सङ्खुवासभाले आयोजना गरेको कार्यक्रममा जलस्रोत विज्ञ डा. बलबहादुर पराजुलीले अपर अरुण आयोजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अपर अरुण आयोजना समयमा सम्पन्न हुनसके सङ्खुवासभाका ३९ हजार ३०६ घरधुरी लाभान्वित हुने बताइएको छ ।

भोटखोला–२ र ५ मा निर्माण हुन लागेको आयोजना १०६१ मेगावाट क्षमताको छ । झण्डै २ खर्ब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजना सम्पन्न गर्न ६ वर्ष लाग्ने बताइएको छ ।

नेपाल सरकारले स्वीकृत गरेअनुसार उक्त परियोजनामा ६८ प्रतिशत शेयर नेपाल विद्युत् प्राधिकरण र विदेशी दातृसंस्थाबाट तथा बाँकी सर्वसाधारण र अन्यका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्