
तेह्रथुम । तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित भएको छ ।
उद्योग मन्त्रालय र म्याङलुङ नगरपालिकाले जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरेका हुन् । सोमबार एक कार्यक्रमबीच मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन् ।
म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय आम्दानीको एक मुख्य स्रोत बनेको छ ।
‘तेह्रथुमे ढाका’का नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको छ । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्न, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा ढाकाको विशेष पहिचान स्थापित गर्न ढाकाको राजधानी घोषणा गरिएको मेयर सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।
स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवद्र्धन गर्न विगतबाटै तालिम सञ्चालन गर्दै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा १४५ ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा छन् । हजारभन्दा बढी उद्योग दर्ता नभई सञ्चालनमा रहेको उक्त कार्यालयको आकलन छ ।
ढाका उद्योगमा ५ हजार बढी जनशक्तिले रोजगारी पाएको तथा ढाका कपडा बुनाइसम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजारभन्दा रहेको कार्यालयले जनाएको छ । स्थानीयस्तरमा ढाका व्यवसास गर्दै आएका व्यवसायी कच्चा सामग्रीको अभाव खेपिरहेका छन् । बजार सीमित हुँदा समस्या भोग्दै आएका छन् ।
अब व्यवसायीका समस्या समाधान हुने व्यवसायी शोभा दाहालको अपेक्षा छ । ‘ढाका कपडा उत्पादनका लागि आवश्यक कच्चा सामग्री तथा बजारको एकदमै समस्या भइरहेको थियो । स्थानीयस्तरमै कच्चा सामग्री उत्पादन भएको खण्डमा हामी ढाका व्यावसायीलाई राहत हुन्थ्यो भन्ने आशा छ,’ उनले भनिन् ।
यहाँको ढाका कपडा स्वदेशसहित विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । जिल्लामा साडी, चोली, दौरा सुरुवाल, कोट, मेख्ली, टाई, मख्लर, कुर्ता, सुरुवाललगायत ढाकाका सामग्री उत्पादन हुँदै आएका छन् । तेह्रथुमबाट वार्षिक ५ करोड मूल्य बराबरको ढाका कपडा निर्यात हुने गरेको छ । हङ्कङ, बेलायत, सिङ्गापुर, भारत, ब्रुनाइलगायत मुलुकमा यहाँ उत्पादित ढाका निर्यात भएको पाइन्छ ।
राजधानी घोषणापछि ढाकाको उत्पादन तथा बजारीकरणमा सबैको ध्यान पुग्ने जिल्लावासीको विश्वास छ । मेसिन प्रयोग नगरी हातले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अन्यत्रको तुलनामा केही बढी छ । तर, ती सामग्री टिकाउ र गुणस्तरीय रहेको ढाका उत्पादकको दाबी छ ।
राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीले एक दशकदेखि नै ‘ह्याण्डी क्याप’ शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् ।











