Logo
Logo

अर्थतन्त्रमा संकट चुलिंदै


- दृष्टि न्युज/संवाददाता


राष्ट्र बैंकले जारी गरेको नेपालको अर्थतन्त्रको नयाँ रिपोर्टले देशको आर्थिक स्थितिमा संकट चुलिंदै गएको देखाएको छ ।

गत जेठ सम्ममा देशको कूल व्यापार घाटा १२ खर्ब ११ अर्ब पुगेको छ । नेपालले यस अवधीमा केवल ८८ अर्बको मात्रै निर्यात गर्न सकेको छ भने आयात १२ खर्ब ९९ अर्ब पुगेको छ ।

अर्थमन्त्रीले पेश गरेको गत वर्षको वजेट १३ खर्ब १५ अर्ब रहेको थियो । जेठ सम्म मै १२ खर्ब ११ अर्ब व्यापार घाटा हुनुले असारको पनि तथ्यांक आउँदा व्यापार घाटा देशको कूल वजेट भन्दापनि वढी हुने देखिएको छ ।

यो स्तरको उच्च व्यापार घाटाले देशको अर्थतन्त्र गम्भीर संकटमा फंँस्दै गएको देखिन्छ ।

ब्यापार घाटा वढ्नु भनेको देशमा उत्पादन र पूँजी निर्मांण घट्नु, देशको पैसा विदेश जानु, देशमा लगानी कम हुनु र फलस्वरुप रोजगारीका अवसरहरु नवढ्नु हो ।

यसै गरी राष्ट्र वैंकको तथ्यांक अनुसार देशको चालु खाता घाटा विस्तार भएर २ खर्ब ४८ अबै पुगेको छ । शोधनान्तर स्थिति ९० अर्बले घाटामा रहेको छ ।

विदेशी विनिमय संचिति ०७५ असार मसान्त सम्ममा ११ खर्ब २ अर्ब रहेकोमा सो घटेर ०७६ जेठ मसान्त सम्ममा १० खर्ब ३० अर्बमा झरेको छ । यसले केवल ७.७ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने कुरा पनि रिपोर्टमा जनाइएको छ । यो भनेको न्युनतम ८ महिनाको लागि पुग्नु पर्ने अन्तराष्ट्रिय मापदण्डवाट तल झरेको छ ।

विदेशमा जाने नेपालीको संख्या गत वर्ष भन्दा ३७.३ प्रतिशतले घटेको छ । यसले रेमिटेन्सको प्रवाहमा आगामी दिनमा कमि आउनेछ । रेमिटेन्सको भरमा चलेको नेपाली अर्थतन्त्रले पछि गम्भीर समस्याको सामना गर्नुृपर्ने देखिन्छ ।

मुद्रास्फिति दर गत वर्ष सोही अवधीमा ४.१ प्रतिशत रहेकोमा यस वर्ष ६.२ प्रतिशत पुगेको छ । यसको अर्थ गत वर्ष भन्दा यस वर्ष महंगी अझ वढेको छ ।

यी तथ्यांकले ओली सरकारको यस आर्थिक वर्षको आर्थिक नीति तथा योजना असफल हुन गएको देखिएको छ ।

रवीन्द्र श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्