
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठक आज ११ बजे बस्ने तय भएको थियो । अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्षनेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मङ्गलबार पनि स्थगन भएको थियो ।
माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठक स्थगन भएसँगै प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम रोकिएको छ ।














