Logo
Logo

‘कांग्रेस र माओवादीले मात्र फाइदा लिने गठबन्धन चाहिँदैन’



काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद बैठक अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै १५ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मत पारित गर्दै गत मंगलबार सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विभिन्न ११ समूह बनाएर समूहगत छलफल भएको थियो । भूगोलतर्फ ७ प्रदेश र अन्य गैरभौगोलिक प्रदेशमा भएका छलफलको निष्कर्ष टोली नेताहरूले प्रस्तुत गर्नुभएको थियो । यो अंकमा भूगोलतर्फ ४ प्रदेशका टोली नेताले दिएको सुझाव प्रस्तुत छः

कांग्रेस र माओवादीलाई मात्र फाइदा हुने गरी गठबन्धन गर्नु हुँदैन
अर्जुन राई, प्रदेश १

गठबन्धनको बस्तुगत समीक्षा हुनुपर्छ । गठबन्धनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट असहिश्रु र छलकपटपूर्ण व्यवहार भयो । आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने विषय अहिल्यै टुंगो लगाउनुपर्छ ।

स्थानीय तहको जस्तो कमजोरी संघ र प्रदेशको निर्वाचनमा हुनुहुँदैन । हाम्रो प्रयत्न वाम गठबन्धनमा हुनुपर्छ । पाँचदलीय गठबन्धन नै कायम राख्ने हो भने पनि अहिले नै त्यसको मोडालिटी तयार पार्नुपर्छ । हामी पेलिने तर, कांग्रेस र माओवादीलाई मात्र फाइदा हुने गरी गठबन्धन गर्नु हुँदैन ।

स्थानीस्य तह निर्वाचनमा पाँच दलीय गठबन्धन मुलतः असफल भएको एकीकृत समाजवादीको निष्कर्ष हो । मुख्यगरी, गठबन्धनबाट कांग्रेस र माओवादीले मात्र फाइदा लिएको बुझाइ रहेको छ । यही, बुझाइका साथ एकीकृत समाजवादीका नेता, कार्यकर्ता गठबन्धनबारे सोच्नुपर्ने पक्षमा पुगेका छन् ।

हामीले असल, सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ । पार्टीलाई विधि, विधानअनुसार चलाउनुपर्छ । असल कम्युनिष्ट पार्टी निर्माण गर्नका निम्ति हाम्रा प्रशिक्षकहरू अत्यन्त कम छन् ।

नीतिगत, सैद्धान्तिक वैचारिक हिसावले छलफल गर्ने, बहस गर्ने काम न्यून भएको छ । पार्टी स्कुल विभागले तुरुन्त कार्ययोजना बनाएर यस विषयमा काम थाल्नुपर्छ । साथै, जनसंगठनहरू उद्धेश्य, मर्म र भावनाअनुसार चल्न सकिराखेका छैनन् । जनसंगठनहरूलाई उद्धेश्य पूरा गर्ने गरी सक्रिय बनाउनु पर्छ ।

राष्ट्रियताको सन्दर्भमा गठबन्धन सरकारमा एकरुपता छैन । हाम्रो पार्टीको तर्फबाट सरकारलाई सुझाव पेश गर्नुपर्छ । राष्ट्रियता र विदेश मित्रराष्ट्र खासगरी छिमेकी राष्ट्र चीन र भारत सँगको हाम्रो सम्बन्धमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार हुनुपर्छ ।

गठबन्धनले पेल्न खोज्छ भने एक्लै निर्वाचन लड्नुपर्छ
सूर्यचन्द्र न्यौपाने, बागमती प्रदेश
पाँचदलीय गठबन्धनको गम्भीर समीक्षा हुनुपर्छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले हामीलाई ‘मिनिमाइज’ गर्ने काम गरे । यसका बाबजुद हामीले बागमती प्रदेशमा हेटौँडा उपमहानगरसहित केही पालिका प्रमुख र उपप्रमुखसहितमा जित हासिल गरेका छौँ ।

यद्यपि, यो जित पर्याप्त होइन । आगामी दिनमा गठबन्धनलाई सुधार गरेर लैजानुपर्छ । पार्टीको सम्मानजनक अवस्था हुने गरी गठबन्धन हुर्नुपर्छ । अन्य दललाई मात्र फाइदा हुने गरी गठबन्धनमा जानुहुँदैन ।

पाँचदलीय गठबन्धनले पेल्न खोज्छ भने बरु एक्लै निर्वाचन लड्नुपर्छ । संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी पार्टीले तयारी तत्काल थाल्नुपर्छ ।

सकभर हामीले वामपन्थी एकतामा जोड दिनुपर्छ । वामपन्थीहरूसँग एकता सम्भव नभए चुनावी तालमेल गरेर अगाडि बढ्नुपर्छ । पार्टी संगठनलाई पनि व्यवस्थित गर्नुपर्ने छ ।

एक टोल, एक कमिटीको अवधारणा अन्तर्गत हामीले संगठन निर्माण र व्यवस्थित गर्नुपर्छ । सदस्यहरूको अभिलेखलाई व्यवस्थित बनाउनुपर्छ । साथै, प्रशिक्षण कार्यक्रमलाई पनि तीब्र गतिमा अगाडि बढाउनुपर्छ ।

कांग्रेस र माओवादीले इमान्दारिता देखाएनन्
प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश
सबैभन्दा पहिला हामीले आफुलाई समाजवादी चरित्रमा ढाल्नुपर्छ । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि हाम्रा मन्त्रीहरूले जुन खालको चरित्र देखाउनुभयो, त्यो आपत्तिजनक छ । उहाँहरुलाई मन्त्री पद छाड्न गाह्रो हुन्छ भने सिफारिस भएका नेतालाई पनि त गाह्रो भयो होला नि ।

विद्रोह त सबैले गरेको हो, हामी सबै विद्रोही हौँ । हाम्रो पार्टीको निर्णय बदल्नका लागि अन्य पार्टीका नेतालाई भेट्नु आपत्तिजनक छ । यसलाई पाटीले गम्भीर रुपमा लिनुपर्छ । आगामी दिनमा यस्तो गल्ती कसैबाट पनि नहोस । नयाँ मन्त्रीहरूले यस्तो रवैया देखाउनु हुने छैन भन्ने विश्वास छ । उहाँहरूले इमान्दार रुपमा पार्टीको निर्णय मान्नुपर्छ ।

केपी ओलीले गरेका असंवैधानिक र प्रतिगामी निर्णय र काम तथा सर्वोच्च अदालतले गरेका फैसालाबारे विस्तृतमा प्रतिवेदनमा समेटिनुपर्छ । राज्यविरुद्ध र पार्टीका नेताविरुद्ध ओलीले गरेका ज्यादतीबारे विस्तृत दस्तावेज तयार पार्दा ओलीले गरेका गल्ती र हाम्रो पार्टी गठनको औचित्य पुष्टि हुन्छ । यसबारे प्रतिवेदन मौन बस्न मिल्दैन ।

स्थानीय तहको निर्वाचन सन्दर्भमा गण्डकी प्रदेशमा गठबन्धनको ९ वटा बैठक बस्यो । ती बैठक सार्थक भएनन्, कुनै पनि बैठक आशावादी भएनन् । हामीलाई गलाउने, फकाउने प्रयास मात्र भयो । जे–जे कांग्रेसले भन्छ त्यही–त्यही मान्नुपर्ने अवस्था रह्यो ।

एक्लै जाँदा चुनाव नजितिने, मिलेर जाँदा उनीहरुको निर्णय पर्खनुपर्ने अवस्था रह्यो । हाम्रो सहयोगमा प्रधानमन्त्री पाएको कांग्रेस हामीप्रति सकारात्मक भएन । माओवादीले पनि राम्रो भूमिमा खेलेन ।

हामीले पालिका प्रमुख पाउने सहमति भएको ठाउँमा कांग्रेस र माओवादीले इमान्दारिता देखाएनन् । उनीहरूले पनि उम्मेदवारी दिए । परिणामस्वरुप एमालेले जित्ने स्थिति पनि भयो । तर, कांग्रेस र माओवादीलाई हामीले इमान्दारपूर्वक भोट हाल्यौँ ।

केन्द्रीय गठबन्धनले गरेको निर्णय कांग्रेस र माओवादीले मानेनन् । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता उनीहरूले राखे । गठबन्धनबाट धोका भयो । हामी पनि चलासीपूर्ण ढंगले रणनीति तयार गर्न चुक्यौँ । आगामी दिनमा हामीले यस्ता गल्ती दोहोर्याउनु हुँदैन । यसका बाबजुद पनि पोखरा महानगरपालिकाको मेयरसहित हामीले जित्यौँ ।

हामीले अपेक्षा गरेअनुसार परिणाम स्थानीय निर्वाचनमा आउन सकेन ।
जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ भन्ने नारा उपयुक्त भएन । नाराले आफ्नो विचार बोल्नुपर्छ । समाजवादीलाई जिताएपछि सामाजिक, आर्थिक रुपान्तरण हुन्छ ।समाजवादको आधार निर्माण हुन्छ भन्ने सन्देश नाराले दिनुपर्छ ।

कांग्रेसलाई सत्ता र माओवादीको अस्तित्व रक्षाका लागि मात्र गठबन्धन भयो
नरेशकुमार भण्डारी, लुम्बिनी प्रदेश
वर्तमानमा क्रियाशील राजनीतिक शक्तिहरूको वर्ग चरित्रको किटान गरिनु पर्ने देखिएको छ । वर्तमानमा क्रियाशील सबै राजनीतिक दलहरूको बारेमा मित्र शक्ति, सहायक शक्ति र प्रधान अन्तर विरोध किटान गर्ने कार्यमा प्रतिवेदन मौन देखिन्छ ।

एमालेभित्रको पनि केपी ओली प्रवृत्ति बाहेकको धारलाई हेर्ने दृष्टिकोणमा समेत स्पष्ट र सकारात्मक व्याख्या गरिनु पर्छ । हालको गठबन्धन निर्वाचनसम्मको लागि मात्र हो भने त्यसपछि के हुने भन्ने बारेमा समेत स्पष्ट हुन आवश्यक छ ।

गठबन्धनमा रहेको मुख्य राजनीतिक शक्ति राष्ट्रिय आत्म समर्पणवादमा लिप्त छ । दोस्रो शक्ति अवसरवाद र उपयोगवादमा लिप्त भएको अवस्थामा राष्ट्रिय स्वाधिनता, निष्ठा र इमान्दारिता पूर्वक गठबन्धन हुन्छ भन्ने कुराको विश्वास पैदा हुने अवस्था कसरी सिर्जना हुने हो स्पष्ट हुन अवश्यक छ ।

के हाम्रो दायित्व कांग्रेसको लागि सत्ता सुविधा र माओवादी केन्द्रको अस्तित्व रक्षाका लागि मात्र हो त भन्ने सवालको जवाफ आम कार्यकर्ता र जनसामुदाबाट माग भएको छ ।

अहिलेको प्रधान अन्तर विरोध भनेको राष्ट्रिय आत्म समर्पणवादी, दलाल नोकरशाही पूँजिवाद र स्वाधिन राष्ट्र र देशभक्तिपूर्ण संघर्ष र यसको ओजमा स्थापित हुने बैज्ञानिक समाजवाद निर्माणको आधार नै प्रधान अन्तरविरोध हो भन्ने कुरा स्पष्ट पार्दै हामी तदर्थवाद र सारसंग्रहबादबाट मुक्त हुन आवश्यक छ ।

गठबन्धनलाई नै दल होकी भन्नेजस्तो गरी निर्देशन जाने तर गठबन्धनका घटकहरूले निर्देशनको पालना नगर्ने प्रवृत्ति देखिएको छ । कांग्रेसहरू आफ्नो उम्मेदवारले मात्र जित्ने–जिताउने प्रपञ्चका साथमा अगाडि बढे भने माओवादी केन्द्रले मौखिक सर्कूलर जारी गरेर गठबन्धनमा हामीलाई कमजोर बनाउने र हाम्रो लागि सुनिश्चत हुन लागेको स्थानमा आफैले दाबी गरेर आफनो पक्षमा पार्ने कार्य गरी हाम्रो अवस्थालाई साईजमा राख्न सफल भयो । हाम्रो पाटी ठूलो नबनोस् भन्ने कुरामा माओवादी केन्द्रको ध्यान केन्द्रित भएको पाइयो ।

कांग्रेस चेन अफ कमाण्डा चल्ने पार्टी होइन रहेछ भन्ने शिक्षा यो निर्वाचनले दिएको छ । कांग्रेसमा रहेको गुटगत समस्या कटुटापूर्ण छ । कतिपय स्थानमा सत्रुतापूर्ण सम्बन्धका कारणले निर्वाचनमा अन्तरघात हुँदा त्यसको नकारात्मक असर हामीले समेत व्यहोर्नु परेको छ ।

माओवादीसंग हाम्रो राजनीतिक तथा बैचारिक सामिप्यता रहे पनि पृष्ठभूमि र विरासतका हिसावले अलग रहेको हुँदा हाम्रो पाटीलाई माओवादी केन्द्रको बाइप्रोडक्ट जस्तो पार्टी बन्नबाट जोगिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्