
खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङमा ४ करोड मूल्यको मकैबालीमा क्षति गरेको छ ।
३३०.०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा ३ करोड ८६ लाख ६८ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । लेकाली भेगमा मकै भर्खर घोगा लाग्न थालेको थियो ।
३३६.२५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेको राईले बताए ।
रातको समयमा चलेको हावाहुरीले सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा क्षति गरेको केन्द्रले जनाएको छ । प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसान चिन्तित भएका छन् ।
मकैबालीमा सुरुको चरणमा फौजी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेको हो ।












