Logo
Logo

बर मागेर पाइन्न, जुर्नुपर्छ-सुशीला गौतम, गायिका


- दृष्टि न्युज/संवाददाता


गायिका सुशीला गौतम तीजमा व्रत बस्दिनन् । तर, हरेक वर्ष तीजमा नयाँ गीत ल्याउँछिन् । ‘चार वर्षदेखि निरन्तर तीजमा नयाँ गीतमा ल्याउँने गरेकी छु’ यसपाली तीजका लागि ‘लेउ लाग्यो’ बोलको गीत ल्याएकी गुल्मी शान्तिपुरकी गौतमले भनिन्, ‘अरुलाई नचाउन गाउने गरेकी छु । आफैँचाहिँ खाशै नाच्दिनँ ।’ तीजमा व्रत बस्न उनी रुचाउँदिनन् । आस्था भने राख्छिन् । नेपाली नारीको पर्व हरितालिका तीज आउन डेढ महिना अगावै गीत रिलिज गर्नुलाई उनी ‘सही’ मान्छिन् । ‘तीज कहिले–कहिले, गीत अहिले’ भन्दै महिना दिन अगावै गीत रिलिजप्रति लक्षित गर्दै उनले भनिन्, ‘एक महिना अगाडि ल्याउनु ठीकै हो किनकि श्रोता÷दर्शकसम्म पुग्न नै एक महिना लाग्छ । तीज सकेको भोलिपल्टबाट गीत नै बजाइँदैन ।’ एक दशकदेखि गायनमा सक्रिय गायिका गौतमले दर्जनौँ गीत स्वर दिइसकेकी छन् । यिनै गायिका सुशीला गौतमसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँलाई तीजले छाइसकेको हो ?

छोएजस्तै भो । यही गएको शुक्रबार तीज गीत ‘लेउ लाग्यो’ रिलिज गरेकी छु ।

तीज आउन महिना दिनभन्दा बढी छ । गीत रिलिज गर्नु किन हतार ?

हतार भयो र ? पोहोर साल त असार १५ गते नै सार्वजनिक गरेकी थिएँ । कार्यक्रमका लागि युके जानुपर्ने भएकाले पोहोरचाहिँ हतार नै गरेकी हुँ । तर, यसपटक ठीकै समयमा गरेँजस्तो लाग्छ । दर्शक तथा श्रोतासम्म पुग्न एक महिना लाग्छ । तीज गीत सिजनल हो, तीज गएको भोलिपल्टबाट तीज गीत बजाइँदैन । त्यसैले एक महिना अगाडि रिलिज गर्नु सही नै हो ।

‘लेउ लाग्यो’बाट कस्तो प्रतिक्रिया आइरहेको छ ?

राम्रै प्रतिक्रिया आइरहेको छ । भ्युअर्स त खाशै धेरै आएको छैन । तर, शेयर र कमेन्ट धेरै राम्रो भइरहेको छ ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?

१० वर्ष भइसक्यो । यो क्षेत्रमा लागेपछि समय वितेकै थाहा नहुने रहेछ । भर्खर जस्तो लाग्छ तर एक दशक नै भएछ ।

सुरुदेखि नै तीज गीत गाउनुहुन्थ्यो ?

होइन, म बढी लोकदोहोरी गाउँछु । तीजका लागि गाउन थालेको चार वर्ष भयो । त्यसयता हरेक वर्ष तीजलाई गाउँदै आएकी छु ।

तीज गीतमात्र गाउनुहुन्छ कि नाच्नु पनि हुन्छ ?

गाउँ गुल्मीको शान्तिपुरमा हुँदा त अलि–अलि नाच्थे । काठमाडौं आएपछि त खाशै नाचेकी छैन । यहाँ त पाटी प्यालेस नाचगान हुन्छ । त्यो मलाई ठीक लाग्दैन । काठमाडौं आएपछि अरुलाई नचाउनका लागि गाउँदै आएकी छु ।

तीज गीतमा विकृति कतिको देख्नुहुन्छ ?

एक समय विकृति आएको थियो । दुई तीन वर्षअघि तीज गीतको नाममा भल्गारिटी आएको थियो । तर, समाजले विरोध गरेपछि अहिले फेरि सुध्रिएको छ । अहिले आइरहेका तीज गीतमा मौलिकता पाइन्छ ।

तीजमा व्रत बस्नु हुन्छ कि हुन्न ?

अँह, अहिलेसम्म व्रत बसेकी छैन । हामीजस्ता कलाकारलाई एनर्जी चाहिन्छ । व्रत बस्दा त झन् खाउँ खाउँ लाग्छ । ज्यानै खतरामा पारेर व्रत बस्न मन लाग्दैन । तैपनि तीजप्रति आस्था भने छ ।

तपाइँ ‘सिंगल’ होइन र ?

हो, अहिलेसम्म त सिंगल नै छु । जोडी मिलेको छैन ।

यसपाली तीजमा व्रत बसेर ‘वर’ माग्ने मन छैन ?

त्यस्तो मन छैन । वर मागेर पाइने होइन, जुर्नुपर्छ । त्यो एकदिन आफै र्जुछ ।

प्रेम प्रस्ताव कतिको आउँछ नि ?

कस्तो कुुरालाई प्रेम प्रस्ताव भन्ने ? इन्टरनेटको जमाना छ । म्यासेन्सर र कल आइरहेको हुन्छ । धेरै कुुरा हुन्छ । तर, खोजेजस्तो पाएकी छैन ।

गायनबाहेक अरु के गर्नुहुन्छ ?

केही गर्दिनँ, सुरुमा रहरले गायनमा लागेको भएपनि अहिले पेसाकै रुपमा अँगालेकी छु । म फूलटाइमर गायिका हुँ ।

आफ्नो पेसाबाट सन्तुष्टि हुनुहुन्छ ?

सन्तुष्टि नै छु । कतिपय कुुराहरु सोचेजस्तो भएको छैन । तैपनि प्रयास गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्