Logo
Logo

गुयरा भ्रमण : अमेरिका झस्कियो


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालबाट हजारौँ किलोमिटर टाढा रहेको तेलको भण्डार दक्षिण अमेरिकी मुलुक बोलिभेरियन गणतन्त्र भेनेजुएलामा जनवरी १० पश्चात् राजनीतिक संकट आएको छ । वर्तमान राष्ट्रपति निकोलस मडुरो र जुआन गाइडामध्ये एक वैधानिक भन्ने प्रश्नमा भेनेजुएला र विश्व दुई पंक्तिमा विभाजित भएका छन् । यस्तो बेला प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेको बखत नेपालको असंलग्न परराष्ट्रनीतिविपरीत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवरी २५, २०१९ मा मडुरोको पक्षपोषण गर्दै ‘साम्राज्यवादी अमेरिकाले भेनेजुएलामा गरेको हस्तक्षेप स्वीकार्य नभएको’ वक्तव्य निकाले । यसपछि काठमाडौंस्थित अमेरिकी दूतावासले यस विषयमा स्थिति स्पष्ट पार्न भन्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्यो । साथै अमेरिकास्थित हाम्रा राजदूत अर्जुनबहादुर कार्कीलाई अमेरिकी विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोध्यो । त्यसपछि प्रचण्डको लयमा लय मिलाउँदै २९ जनवरी २०१९ मा परराष्ट्र मन्त्रालयले ‘देशको राजनीतिक र संवैधानिक दिशा कता जाने भन्ने अधिकार भेनेजुएलाका जनतासँग छ’ भन्दै प्रेस वक्तव्य निकाल्यो । यसै प्रसंगलाई लिएर परराष्ट्र मन्त्रालयले आयोजना गरेको कूटनीतिक ब्रिफिङमा नगई अमेरिकी राजदूत ¥याण्डी बेरी कमलादीस्थित आफ्नै निवासमा बसे ।

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

लगभग नेपालकै जति ३ करोड जनसंख्या भएको भेनेजुएलामा सन् २०१७ को आँकडाअनुसार ३०२ , ८१ बिलियन ब्यारेल तेलको भण्डार रहेको छ । यो भनेको संसारकै ठूलो तेल भण्डारमध्येको एक हो । संयुक्त राज्य अमेरिकी ऊर्जा सूचना प्रशासका अनुसार अमेरिकाले भेनेजुएलासँगको तनाव शुरु हुनुभन्दा पहिले प्रतिदिन ६ लाख ब्यारेल भन्दा बढी तेल भेनेजुएलाबाट आयात गर्दथ्यो । भेनेजुएला तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक)को सदस्य मुलुक हो ।

अमेरिकाको तेलको आपूर्तिको महत्वपूर्ण अंश भेनेजुएलाले पूरा गर्दछ । यसबाट के स्पष्ट हुन्छ भने संयुक्त राज्य अमेरिकाको लागि भेनेजुएला कति महत्वपूर्ण देश हो ।

वर्तमान राष्ट्रपति निकोलस मडुरोलाई रुसको बलियो समर्थन प्राप्त छ । रुसले भेनेजुएलालाई सैनिक रुट सामानको आपूर्ति गर्दछ । जुन अमेरिकालाई मन परेको छैन । यस्तै चीन, उत्तरकोरियालगायत मुलुकको पनि मडुरोलाई समर्थन छ । उता गाइडोलाई अमेरिकालगायत अन्य मुलुकको समर्थन छ ।

हालै जुलाइको दोस्रो साता वर्तमान राष्ट्रपति निकोलस मडुरो सुपुत्र गुयरा मडुरो तीन मन्त्रीसहित ११ सदस्यीय टोलीका साथ नेपाल भ्रमण गरे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग उच्चस्तरीय भेट वार्ता गरी स्वदेश फर्किएका छन् । गुयर, सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनको निम्तोमा नेपाल आएका थिए । गुयराले संसद् भवनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए भन्ने कुरा आएको छ ।

कुनै पनि मुलुकको परराष्ट्र नीति राष्ट्रिय हितलाई सर्वोपरी राखेर सञ्चालन हुन्छ । विश्व महाशक्ति राष्ट्र अमेरिकालाई चिढाएर हामीले कुन किसिमको राष्ट्रिय हित गर्ने खोजेका हौँ भन्ने कुरा नेपाली जनताले बुझ्न सकेका छैनन् ।

राष्ट्रिय हितका अगाडि पार्टीको स्वार्थ गौण हुन्छन् । नेपालसँग २८ अप्रिल १९८७ मा दौत्य सम्बन्ध कायम भएको भेनेजुएला हाम्रा लागि न त रणनीतिक महत्व भएको मुलुक हो न त आर्थिक व्यापारिक साझेदार नै । तसर्थ, नेपाल सरकारले भेनेजुएलालाई नचाहिँदो महत्व दिएर अमेरिकासँगको सम्बन्धलाई खल्बल्याउने जुन काम गरेको छ त्यसले नेपालको राष्ट्रिय हितमा क्षति पुगेको छ ।

कुनै व्यक्ति विशेषको लहडमा मुलुकको परराष्ट्र नीति सञ्चालन हुन थाल्यो भने मुलुकले ठूलो मूल्य चुकाउनु पर्नेछ । भेनेजुएला प्रकरणमा सरकार र नेकपाद्वारा हाम्रो परराष्ट्र नीति ‘असंलग्नता’लाई नै धरापमा पार्ने जुन काम गरेको छ त्यसले न त नेपालको राष्ट्रिय हि तगर्दछ न त मुलुकले यसलाई धान्न सक्ने क्षमता नै छ । भेनेजुएलाबाट तेल आयात गर्ने छिमेकी मुलुक भारतसमेत यस मामिलामा तटस्थ बस्दै आएको छ । राष्ट्रपति पुत्र गुयराको नेपाल भ्रमणलाई परराष्ट्र मन्त्रालयले आफ्नो सूचनामा नभएको भने पनि गुयराको नेपालमा भव्य स्वागतले अमेरिकालाई झस्क्याएको छ ।

प्रतिक्रिया दिनुहोस्