Logo
Logo

सिनियर सहसचिवको अपमान


- दृष्टि न्युज/संवाददाता


माधव पौडेल

काठमाडौं, ७ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बरिष्ठ सहसचिव रविन्द्र श्रेष्ठलाई ४ महिनादेखि कुनै जिम्मेवारी नदिई राखिएको छ । उनी दैनिक आउँछन्, सचिव देवेन्द्र कार्कीको कार्यकक्षमा हाजिर गर्दै फर्किने गर्दछन् । सिनियर सहसचिवलाई यसरी जिम्मेवारी नदिई राख्नु नहुने कानुनी ब्यवस्था छ । तर मन्त्री रघुवीर महासेठले उनलाई कुनै जिम्मेवारी दिएका छैनन् । मन्त्रालयको योजना महाशाखाको प्रमुख रिक्त छ । तर त्यहाँ डीई (उपसचिव) कर्णबहादुर रानाभाटले चलाउँदैआएका छन् । महाशाखा रिक्त हुँदाहुँदै श्रेष्ठलाई विनाजिम्मेवारी राखेर मन्त्री महासेठले उनलाई पेलेका छन् ।


भौतिक मन्त्री रघुवीर महासेठले श्रेष्ठलाई सडक विभागको महानिर्देशकबाट १० महिनामै तानेका थिए । २०७५ जेठमा सरुवा भएका उनलाई चैतमा तानिएको थियो । मन्त्री महासेठको योजना अनुसार नचलेपछि उनलाई सरुवा गरिएको थियो । उनी सरुवा भएपछि मन्त्रीको योजनामा नचल्ने सचिव मधुसुदन अधिकारी पनि खेदिएका थिए । मन्त्री महासेठको योजना ठेक्कामा सेटिङ गर्ने थियो, तर सचिव र महानिर्देशक दुवैले त्यो कुरा नमानेपछि उनले प्रधानमन्त्री केपी ओलीलाई कन्भिन्स गरी सचिव र महानिर्देशक दुवै परिवर्तन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्