Logo
Logo

१९ वटा बाइक खरिद गर्ने पालिकामा ४ करोड ३१ लाख बेरुजु


राम मगर


खोटाङ । गत आर्थिक वर्षमा बेरुजु कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

महालेखा परीक्षकका अनुसार आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ ।

त्यस्तैगरी खोटाङ जिल्लाका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा जिल्लाका बराहपोखरी गाउँपालिकामा ४ करोड ३१ लाख ८५ हजार बेरुजु पाइएको छ । ६४ करोड ८८ लाख २९ हजारको लेख परीक्षण गर्दा ६.६६ प्रतिशत बेरुजु देखिएको हो ।

जिम्मेवारी सरेर आएको ६ करोड ९८ लाख ८२ हजार सहित ३० करोड ८४ लाख ८० हजार आम्दानी भएको बराहपोखरीले ३४ करोड ३ लाख ४९ हजार खर्च गरेको थियो ।

यस पालिका पटक-पटक विभिन्न विवादमा मुछिदै आएको छ । यसअघि पनि पालिकाले एक कार्यकालमा १९ वटा मोटरसाइकल खरिद प्रकरणमा मुछिएका थियो। पालिकाले मोटरसाइकल चालक राखेको विवाद पनि भएको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ४० लाख छ हजार १६२ रुपैयाँ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ७९ लाख ५४ हजार चार सय तीन रुपैयाँ बेरुजु रहेको देखाइएको थियो । २०७६/०७७ मा दुई करोड ४० लाख ६ हजार एक सय ६२ रुपैयाँ बेरुजु रहेको देखाइएको थियो ।

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ७ करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औंल्याइएको छ । २ अर्व ३ करोड ५३ लाख ७२ हजारको लेखा परीक्षण गर्दा दिक्तेल रुपाकोट मझुवागढीमा ३.७० प्रतिशत बेरुजु देखिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखिएको छ । लेखा परिक्षण रकम १ अर्व २० करोड ३ लाख २८ हजार रहेको हलेसी तुवाचुङमा ४.५४ प्रतिशत बेरुजु देखाइएको छ ।

खोटेहाङ गाउँपालिकामा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । महालेखाले १ अर्व २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ बेरुजु भेट्टाएको हो ।

केपिलासगढी गाउँपालिकामा ५ करोड ६ लाख १२ हजार बेरुजु छ । ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गर्दा ६.३१ प्रतिशत बेरुजु औल्याइएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ । १ अर्व ७ करोड ६२ लाख ११ हजारको लेखा परीक्षण गर्दा ३.१४ प्रतिशत बेरुजु भेट्टाइएको थियो ।

जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षण गर्दा ६.८२ प्रतिशत बेरुजु देखिएको हो ।

साकेला गाउँपालिकामा १ करोड ४६ लाख ८६ हजार देखिएको छ । ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा २.१३ प्रतिशत बेरुजु पाइएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्