Logo
Logo

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न, पर्यटन पूर्वाधार र जलविद्युतमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह



काठमाडौँ । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंकको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहलाई आग्रह गरेका छन् ।्

वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढिरहेको र प्रतिफल पनि राम्रो रहेको बताए । उनले भने, “हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका सातवटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैरआवासीय नेपालीसँगको सहकार्यमा लमजुङ जिल्लामा निर्माण भएको जलविद्युत् आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्दैछौँ”, उनले भने, “तपाईँहरुले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।”

बैंकका अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैर आवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।

“यता विदेशमा बिनाव्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याजसमेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ” उनले भने । उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताए ।

वेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैरआवासीय नेपालीलाई समेत आग्रह गर्दै बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रसंशा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए । अन्तक्र्रियामा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ, टिएनबी ग्यारिसनका कमाण्डिङ अफिसर तोल काम्चालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले बैंकले विदेशमा रहेका नेपालीहरुको सेवा र सजिलोका लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकामा बैंकको प्रसंशा गर्दै यसले गैरआवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा बैंकका युके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्दै बैंकका सेवाहरुबारेमा प्रस्तुतीकरण गरेका थिए ।

मुलुकभित्र ७७ जिल्लामा २८९ शाखा रहेको नेपालकै पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्