Logo
Logo
कला

‘म पहिले मिडियादेखि भाग्दै हिँड्ने मान्छे हुँ’



काठमाडौं । गायिका तारा श्रीष मगर ‘भ्वाइस अफ नेपाल’मा जानुअघिसम्म खासै चिनिएका थिएनन् । जबकि, उनले ६ सयभन्दा बढी गीत गाइसकेका थिए । भ्वाइस अफ नेपालको सिजन–३ मा प्रस्तुत भएपछि उनको चर्चा चुलियो ।

‘भ्वाइस अफ नेपाल’मा प्रतिस्पर्धा गरिरहँदा ताराको प्रस्तुती नरुचाउने सायद कमै थिए । तर, भोटिङका आधारमा ‘फस्ट रनरअप’ अर्थात दोस्रो पोजिसनमै उनले चित्त बुझाउनुपर्याे । ‘मेरो कमजोरी भनेकै भोटिङ हो’ तारा भन्छिन्, ‘पर्फमेन्समा कुनै कसरत बाँकी राखेकी थिइनँ ।’

बागलुङ, जैमनीका ताराले सन् २०१० मा ‘भ्वाइस अफ टिन’मा पाटिसिपेन्ट भएपछि गायन करिअर सुरु गरेका हुन् । २०१० मै तारा ‘विग आइकन’ नामक सांगीतिक प्रतिस्पर्धामा चौथो भएका थिए । ‘फूल सम्झे फूल तिमी’ उनको पहिलो रेकर्डेड गीत हो । ताराका हालसम्म एक हजारभन्दा बढी गीत आइसकेका छन् । गायिका तारा श्रीष मगरसँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
रेकर्डिङहरूमै व्यस्त छु । त्यसबाहेक स्टेज कार्यक्रमहरू पनि गरिरहेकी छु ।

भ्वाइस अफ नेपालमा गएपछि तपाईंको व्यस्तता बढेको हो ?
भ्वाइस अफ नेपालको सिजन-३ सकिएलगत्तै निकै व्यस्त भएकी थिएँ । तर, अहिले त्यस्तो खासै व्यस्त छैन ।

स्थापित भइसक्नुभएको गायिका भ्वाइस अफ नेपालमा किन जानुभयो ?
मेरो चाहना र इच्छाले होइन, बाबाको करले गर्दा भ्वाइस अफ नेपालमा गएकी हुँ । भ्वाइस अफ नेपालको सिजन–३ सुरु हुन लाग्दा बाबा विमारी हुनुहुन्थ्यो । त्यतिखेर पनि बाबाले भ्वाइस अफ नेपालमा जान जोड गर्नुुभयो । मैले बचन दिए । त्यही बचन पूरा गर्नकै लागि गएकी हुँ । त्यसअघि नेपाल आइडलमा पनि जानु भन्नुभएको थियो । तर, इच्छा नै लागेन ।

भ्वाइस अफ नेपालमा गएपछि चर्चामा आउनुभयो होइन त ?
त्यसअघि सीमित रुपमा चिनाएकी थिएँ । तर, चर्चामा थिइन । भ्वाइस अफ नेपालमा गएपछि धेरैले चिन्नुभयो ।

भ्वाइस अफ नेपालमा प्रतिस्पर्धा गरिरहँदा कतिको डर लाग्थ्यो ?
अरुबेला डर लाग्दैनथ्यो । तर, जब नकआउट राउण्डबाट लाइभ राउण्डमा पुगेँ, तब डर लाग्यो । आउट हुन्छु होला भनेर त्यतिखेर होटलबाट लुगा प्याक गरेर घर जान तयारी गरेकी थिएँ । तर, आउट भइनँ ।

फस्ट रनरअपमै चित्त बुझाउनुभयो । आफ्नो कमजोरी के जस्तो लाग्छ ?
मेरो कमजोरी भनेकै भोटिङ हो । पर्फमेन्समा कुनै कसरत बाँकी राखेकी थिइनँ । अडियन्सले रुचाएकै थिए । तर, सोचेजस्तो भोट पाउन सकिनँ ।

रियालिटी शोहरुमा हुने भोटिङ निष्पक्ष र पारदर्शी हुन्छ ?
मलाई त पारदर्शी नै हुन्छ जस्तो लाग्छ । सायद हुन्छ होला ।

भ्वाइसमा जानुअघि कति गीत गाउनुभएको थियो ?
पप, आधुनिक, कौरा गरी ६ सयभन्दा बढी गीत गाइसकेकी थिएँ । मैले गुरुङ र मगर भाषाका गीत पनि धेरै गाएकी छु ।

गीतसंगीतमा लाग्नुभएको कति भयो ?
भ्वाइस अफ टिन-२०१० मा सहभागी भएपछि गायनमा लागेकी हुँ । त्यो समयमा भ्वाइस अफ टिन नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । २०१० मै पोखरामा रियालिटी शो ‘विग आईकन’मा भाग लिएकी थिएँ । त्यसबेला पाँचौ भएकी थिएँ । भ्वाइस अफ टिनमा टप २५ सम्म पुगेकी थिएँ ।

तपाईंको पहिलो रेकर्डेड गीत कुन हो ?
सन् २०१० मै ‘फूल सम्झे फूल तिमी’ बोलको गीत रेकर्ड गरेकी थिएँ । त्यो पप गीत हो । त्यसपछि नै मेरो गायन यात्रा औपचारिक रुपमा अगाडि बढेको हो ।

गायन क्षेत्र के सोचेर रोज्नुभयो ?
रहरले सुरु गरेकी हुँ । त्यसपछि बाध्यता बन्यो । गीतसंगीतमा सानैदेखि रुची थियो । आफूले रुचाएको र इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा खुसी छु ।

तपाईं कस्तोे गीत गाउन रुचाउनु हुन्छ ?
मलाई मनपर्ने स्लोरक हो । स्लोरक नै गाउन रुचाउँछु । तैपनि सबै प्रकारका गीत गाउँदै आएकी छु । पप, आधुनिक, कौरा, मगर र गुरुङ भाषाका गीतहरू पनि गाउँदै आएकी छु ।

बागलुङतिरका कलाकार लोकगीत क्षेत्रमा धेरै छन् । तपाईं लोकगीत गाउनु हुन्न ?
मलाई लोकगीत गाउन आउँदैन । पप, स्लोरक र आधुनिकबाहेक मैले गाउने भनेको कौरा चुट्का हो । कौरा धेरै गाएकी छु । भ्वाइसमा पनि मैले कौरा गाएकी थिएँ ।

हजारको संख्यामा गीत गाइसक्नुभएको छ । तीमध्ये आफूलाई मनपर्ने गीत कुन हो ?
‘वैशको हुरीले’ बोलको गीत मनपर्छ । यो गीतको शब्द र मेलोडी मलाई मन परेको हो । त्यसबाहेक केही मगर भाषाका कौरा पनि मन परेको छ ।

भ्वाइस अफ नेपालमा गएपछि मात्रै तपाईंको चर्चा किन ?
म पहिले मिडियादेखि भाग्दै हिँड्ने मान्छे हुँ । अहिले यति बोल्ले भएको पनि भ्वाइसमा गएर मात्र हो । मिडियाको अगाडि जाँदै नजाने भएपछि चर्चामा आउने कुरै भएन ।

गायनको सिलसिलामा कुन–कुन देश जानुभएको छ ?
भ्वाइस अफ नेपालले हामीलाई दुवई लगेको थियो । त्यसबाहेक म जापान, युके, हङकङ, दक्षिण कोरिया, कतारलगायका देश पुगेकी छु ।

संगीतकाे अभ्यास कतिको गर्नुहुन्छ ?
थोरै मात्रै गर्छु । किनकि मेरो घाँटी सेन्सेटिभ छ । दैनिक २० देखि २५ मिनेट रियाज गर्दै आएकी छु ।

प्रतिक्रिया दिनुहोस्