
सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटक बढेका छन् ।
२०७७/०७८ को तुलनामा ८३.६२ प्रतिशतले पर्यटक आवागमन बढेको हो । अघिल्लो वर्ष ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेका थिए । ०७८/०७९ मा २६ हजार ४ सय ७४ जना पर्यटक आएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।
जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली रहेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए । असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमीमा फैलिएको छ ।
यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् । पर्यटक बढेसँगै सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा ७४ प्रतिशतले वृद्धि भएको छ ।
०७७/०७८ मा १ करोड २१ लाख तथा ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार रुपैयाँ सङ्कलन गरेको सूचना अधिकारी रोकायले जानकारी दिए । निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टर उडान तथा अवतरणबापत शुल्क लिने गरेका छन् ।
तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क देशका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ ।
त्यसैगरी तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क देशका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।
हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ ।












