Logo
Logo

‘किरात प्रदेश’ माग्दै गर्दै मुख्यमन्त्री कार्यालय र प्रदेश सभा घेराउ



विराटनगर । प्रदेश नं- १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभा घेराउ गरेको छ ।

प्रदेश-१ नामाकरणको विषय पेचिलो बन्दै गइरहेको बेला पहिचानका आधारमा राख्न दबाब स्वरुप यायोक्खाले मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नुको साथै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको हो ।

सोमबार यायोक्खाका अध्यक्ष दिवस राईलगायतले प्रदेश-१ को नामाकरण ‘किरात प्रदेश’ राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगर पुगेर मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो ।

मुख्यमन्त्री राईले पहिचानकै आधारमा प्रदेशको नामाकरण हुने आश्वासन दिए । एकल पहिचान सम्भव नभए बहुपहिचानको आधारमा प्रदेशको नामारकण गरिने उनको भनाइ थियो ।

मुख्यमन्त्री राईको भनाइ उदृत गर्दै यायोक्खा अध्यक्ष दिवस राईले भने- ‘एकल पहिचान चाहिँ गाह्रो छ । बहुपहिचान जोड्नपर्छ । किरात-कोशी या किरात-सगरमाथा, त्यसमा अन्य पनि हुन सक्छ । किरातको मुख्य हक लाग्ने भुगोल हो । त्यसमा म छोड्दिनँ, किरात मात्रै पास हुन गाह्रो हुनेछ ।’

यायोक्खाले किरात प्रदेशको माग गर्दै बृहत् मोटरसाइकल र्‍याली समेत गरेको थियो । मोटरसाइकल र्‍यालीमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, सिराह सप्तरीबाट समेत सहभागी भएका थिए ।

उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा माग गर्दै नाराबाजी गरका थिए ।

प्रतिक्रिया दिनुहोस्