काठमाडौं । नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज बिहानबाट पुन: सुरु गरिएको छ । बिहान १० बजेसम्म सुरक्षित हिसाबले निकाल्ने गरी तयारी गरिएको छ ।

‘प्राविधिकहरूसँग सबै तयारी गरेका छन् । पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ । क्रुजसिप निकाल्नका लागि क्रेनसमेत प्रयोग गरिने छ । क्रेन क्रुजसिप अड्किएको ठाउँ नजिकसम्म पुग्नका लागि हिजो राति अबेरसम्म दुईवटा एक्स्काभेटरमार्फत् बाटो बनाइएको थियो ।
आज बिहानपखसम्म पनि प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसहित इन्जिनियरहरूको टोली पनि काममा खटिएको थियो ।
क्रुज सिपलाई बाहिर निकाल्न सिङ्गै क्रुजसिपलाई तानेर साइडमा ल्याउने र दोस्रो विकल्प काटेर टुक्रा पारेर निकाल्ने गरी तयारी भइरहेको छ । क्रुज ६० टनको भार छ । त्यो भित्र पानी पनि भरिएको छ । नारायणी नदीको बहावको प्रेसर पनि छ । यी सबै अवस्थालाई हेरेर प्राविधिक साथीहरूले काम गरिराखेको हो ।














