Logo
Logo

एउटा ह्याकरका कारण सिटीमाथि बज्रपातः इतिहास नै मेटिने खतरा !


756
Shares

म्यानचेस्टर सिटीको नाम सुन्नासाथ पछिल्लो एक दशकको प्रिमियर लिग सम्झिन्छौँ । लगातार उपाधि, स्टार खेलाडी, पेप ग्वार्डिओलाको रणनीति, इतिहास स्टेडियमको दबदबा अनि युरोपकै शक्तिशाली क्लब । तर, अहिले यही ‘महाशक्ति’माथि यस्तो बज्रपात भएको छ, जसले क्लबको आगामी भविष्य मात्र होइन, हिजो कमाएका सारा उपलब्धि र इज्जतमाथि नै गम्भीर प्रश्न चिह्न खडा गरिदिएको छ ।

प्रिमियर लिगको वित्तीय नियम लत्त्याएको भन्दै लगाइएका ११५ आरोपमध्ये ११४ वटामा सिटी दोषी ठहर भएको रिपोर्टले अहिले तहल्का मच्चाएको छ । सन् २०२३ को फेब्रुअरीदेखि नै फुटबल वृत्तमा गिजोलिएको यो काण्ड अब सम्भावित सजायको निर्णायक मोडमा आइपुगेको छ । सिटीसँग अझै कानुनी अपिल गर्ने बाटो खुला छ र अहिले बाहिरिएको कुरा नै अन्तिम फैसला भइसकेको छैन ।

तर प्रश्न गम्भीर छ–  यदि अन्तिम फैसलामा पनि सिटीको गल्ती प्रमाणित भयो भने अब के हुन्छ  ? के दुई–चार करोड जरिवाना तिराएर वा केही अङ्क काटेरै उसलाई उम्किने छुट मिल्ला ? कि रेलिगेसनमै झारिएला रु या हिजो सानले उचालेका ऐतिहासिक ट्रफीहरू नै खोसिएलान् रु म्यानचेस्टर सिटीको असली सङ्कट यहीँबाट सुरु हुन्छन् ।

प्रिमियर लिगले सिटीलाई कस्तो सजायको भागेदार बनाउँछ भन्ने अहिले नै यकिन छैन । तर, आरोपको चाङ र गाम्भीर्य हेर्दा दुई–चार करोड जरिवाना वा सानोतिनो अङ्क कटौतीमै कुरो सल्टिन्छ भन्ने देखिँदैन । यसअघि एभर्टनको ६ अङ्क र नटिङ्घम फरेस्टको ४ अङ्क काटिएको थियो । तर, उनीहरूको गल्ती सिटीमाथि लागेको आरोपको तुलनामा निकै सामान्य थियो । चेल्सीले पनि गैर कानुनी भुक्तानी काण्डमा जरिवाना त ति¥यो, तर त्यो पूर्वमालिक रोमन अब्रामोभिचको पालाको अपराध थियो, जुन वर्तमान मालिकले आफैँ लिगलाई बुझाएर प्रायश्चित गरेका थिए ।

तर, सिटीको कथा बेग्लै छ । सिटीले सुरुदेखि नै “हामीले गल्ती गरेकै छैनौँ“ भनेर जिद्दी कस्दै आएको छ । तर, यदि सिटी अन्तिम फैसलामा पनि दोषी ठहरियो भने, कारबाहीको स्तर कल्पनाभन्दा बाहिरको हुन सक्छ । फुटबलका वित्तविज्ञ कियरन म्याग्वायरले ४० देखि ६० अङ्कसम्मको कटौतीको अनुमान लगाएका छन् । हुन त यो आधिकारिक घोषणा होइन, तर विज्ञको यो पूर्वानुमानले नै सिटी क्याम्पमा भूकम्प ल्याउन काफी छ ।

एकपटक सोचौँ त, ४० वा ६० अङ्क एकैपटक काटियो भने के हुन्छ रु सोझो अर्थ हो-क्लब सीधै रेलिगेसनमा पछारिन्छ । तर, प्रिमियर लिगका अधिकारीहरू अझै विकल्पमा पनि छलफलमा छन्– के सिटीलाई एकै सिजनमा अङ्क काटेर तल झार्ने, कि धेरै सिजनसम्म अलिकति अङ्क काट्दै लगातार थला पारिराख्ने ? अर्थात्, सिटीको टाउकोमा मडारिएको कालो बादल यो सिजनका लागि मात्र होइन, आगामी धेरै सिजनसम्म दर्किन सक्छ ।

तर, चासो अङ्क कटौतीमा मात्र सीमित छैन । सबैभन्दा ठूलो प्रश्न- ती ऐतिहासिक उपाधिहरू के हुन्छन् ? सिटीमाथि लागेको वित्तीय जालसाजीको दाग सन् २००९ देखि २०१८ सम्मको अवधिसँग जोडिएको छ । र, यही सुनौलो कालखण्डमा सिटीले तीनवटा प्रिमियर लिग (२०११–१२, २०१३–१४ र २०१७–१८) को उपाधि जितेको थियो । यदि यी तीनवटै उपाधि खोसिए भने के होला रु सन् २०११–१२ को अन्तिम खेलको अन्तिम खेलमा सर्जियो अगुएरोले गरेको त्यो जादुयी गोल, जसले म्यानचेस्टर युनाइटेडको मुखैमा आएको उपाधि खोसेर ४४ वर्षपछि सिटीलाई च्याम्पियन बनाएको थियो, के त्यो इतिहासबाट मेटिएला ? सन् २०१३–१४ मा लिभरपुललाई र २०१७–१८ मा फेरि युनाइटेडलाई रुवाउँदै उचालेका ती ट्रफीहरू रद्दीको टोकरीमा फालिएलान् ?

यदि साँच्चै ती तीन उपाधि फिर्ता लिइयो भने सिटीको कुल प्रिमियर लिग उपाधि सङ्ख्या आठबाट सीधै पाँचमा झर्नेछ । तर, सिटीको उपाधि खोसियो भन्दैमा दोस्रो हुने युनाइटेड वा लिभरपुलले सित्तैमा त्यो ट्रफी पाउँछन् भन्ने ग्यारेन्टी छैन । त्यो त अझै लामो कानुनी र प्रशासनिक झमेलाको विषय बन्नेछ ।

अब अर्को प्रश्न-अगुएरोको गोल खोस्न सकिन्छ ? पेप ग्वार्डिओलाले यसअघि एउटा महत्त्वपूर्ण कुरा भनेका थिए– फैसला जे भएपनि ती क्षण सिटीकै हुन् । २०१२ मा अगुएरोले गरेको गोल कसैले बिर्साउन सक्दैन । त्यो क्षण, त्यो उत्सव, त्यो इतिहास फुटबलको स्मृतिबाट मेटिँदैन । तर, याद राख्नुपर्ने कुरो के हो भने, दिमागको सम्झना मेटाउन नसकिए पनि रेकर्ड बुकबाट ट्रफीको नाम भने निमिट्यान्न पार्न सकिन्छ । लिभरपुलका पूर्वखेलाडी ड्यानी मर्फीको भनाइ पनि ठ्याक्कै यही छ– ‘दर्शकको सम्झना त कसैले खोस्न सक्दैन, तर घाँटीमा लगाएको पदक र क्लबको क्याबिनेटमा सजाएको ट्रफी भने कानुनले मज्जाले खोस्न सक्छ ।’

इटालीको क्याल्चोपोली प्रकरणमा युभेन्टसका उपाधि खोसिएको उदाहरण छ । २००४–०५ को उपाधि खाली राखियो भने २००५–०६ को उपाधि इन्टर मिलानलाई दिइयो । युभेन्टसलाई त रेलिगेसनसमेत गरिएको थियो । तर सिटीको केस प्रत्यक्ष म्याच फिक्सिङको होइन । यो वित्तीय नियम उल्लङ्घनसँग सम्बन्धित छ । त्यसैले युभेन्टसको उदाहरणलाई सिटीमा हुबहु लागू गर्न मिल्छ भन्ने छैन ।

अब अर्को पेचिलो प्रश्न उब्जिन्छ– क्षतिपूर्ति माग्ने क्लबहरूको कति होला रु यदि सिटीले वित्तीय नियम मिचेरै महँगा खेलाडी भित्र्याएको, तलब र प्रायोजनको नक्कली जालो बुनेर मैदानमा अनुचित लाभ लिएको प्रमाणित भयो भने, त्यसको मार अरू क्लबलाई परेन त रु पक्कै प¥यो ।

यसैलाई आधार मानेर म्यानचेस्टर युनाइटेडले सिटीको यो आर्थिक जालसाजीका कारण आफ्नो आम्दानीमा ठुलो धक्का लागेको भन्दै क्षतिपूर्तिको हिसाबकिताब गर्न थालिसकेको छ । युनाइटेड मात्र होइन, उपाधिको दौडमा सिटीकै कारण पछि परेका लिभरपुल र आर्सनलले पनि युनाइटेडले जस्तै आर्थिक क्षतिको दाबी गर्दै करोडौँ पाउन्डको क्षतिपूर्ति माग्न थालेका छन् । 

किनकि, सिटीका कारण कुनै क्लबले उपाधि वा शीर्ष चारको स्थान गुमाउनु भनेको एउटा ट्रफी गुमाउनु मात्र होइन । त्यो च्याम्पियन्स लिग खेल्ने सुनौलो अवसर गुमाउनु हो । त्यहाँबाट भित्रिने अर्बौँ रुपैयाँ बराबरको टेलिभिजन प्रसारण अधिकार र पुरस्कार राशि गुमाउनु हो । कुरा यतिमै रोकिँदैन, यसले स्पोन्सर, टिकट बिक्री, खेलाडीको बजार मूल्य र क्लबको समग्र अन्तर्राष्ट्रिय ब्रान्ड भ्यालुमै गम्भीर धक्का दिन्छ ।

त्यसैले, अब म्यानचेस्टर सिटीमाथिको सङ्कट ‘प्रिमियर लिगलाई कति जरिवाना तिर्ने रु’ भन्नेमा मात्र सीमित छैन । अबको मुख्य लडाइँ त ‘कुन क्लबलाई कति क्षतिपूर्ति तिर्ने ?’ भन्नेमा पनि केन्द्रित हुनेछ । यद्यपि, कानुनी र प्राविधिक रूपमा यो क्षतिको रकम अहिले नै यति–उति भनेर तोक्न सकिने अवस्था छैन, तर अदालतको ढोका ढकढक्याउन पुग्ने क्लबहरूको दाबीले सिटीलाई आर्थिक रूपमा टाट पल्टाउन सक्छ । 

म्यानचेस्टर सिटीमाथि आइलागेको यो बज्रपातको कथामा छुटाउनै नहुने एउटा पात्र छन्– रुई पिन्टो । यो सिङ्गो प्रकरणको सबैभन्दा रोचक अध्याय नै उनी हुन् । सरल भाषामा भन्दा, सिटीको यो भित्री रहस्यलाई विश्वव्यापी मञ्चमा छताछुल्ल पार्ने मुख्य सूत्रधार नै पिन्टो हुन् । सिटीका समर्थकको नजरमा उनी एउटा ’साइबर अपराधी’ हुन् भने, बाँकी फुटबल जगत्का लागि फुटबलको अँध्यारो पक्ष उजागर गर्ने साहसी ’ह्विसलब्लोअर’ हुन् ।

बाँकी भिडियोमा 

प्रतिक्रिया दिनुहोस्