
काठमाडौं । नेपाल आयल निगमले तेल खरिदवापत बक्यौतामध्ये १६ अर्ब ८० करोड रुपैयाँ इन्डियन आयल कर्पाेरेसन (आइओसी)लाई भुक्तानी गरेको छ ।
निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार सोमबारसम्म आइओसीको बक्यौता ३१ अर्ब २० करोड रुपैयाँ थियो । अब बक्यौता १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । निगमले सरकार र बैंकबाट लिएको ऋण तथा भ्याटफिर्ताबापत पाएको रकमबाट आइओसीको बक्यौता भुक्तानी गरेको हो ।
निगमलाई आइतबार सरकारले ५ प्रतिशत ब्याजदरमा ७ अर्ब रुपैयाँ ऋण दिएको थियो । त्यस्तै, सरकार जमानी बसेर राष्ट्रिय वाणिज्य बैंकबाट ९ प्रतिशत ब्याजदरमा सोमबार तीन अर्ब रुपैयाँ ऋण लिएको थियो ।
भ्याट फिर्ताबापत आन्तरिक राजस्व विभागबाट साढे तीन अर्ब रुपैयाँ लिएको थियो । बजारमा तेल बेचेर उठेको पैसासमेत थपेर आइओसीलाई बक्यौता कम गर्न पैसा पठाएको निगमले जनाएको छ ।












