
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठमा हाजिरीको विषयमा विवाद भएपछि अध्यक्ष पंकज नेम्वाङले बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुआतमै अध्यक्ष नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको एक सदस्यले जानकारी दिएका छन् ।
बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो ।
पछिल्लो समय पदाधिकारी नियुक्तिको विषय निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका नेम्वाङ निकै दबाबमा रहेका छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सह महासचिव, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा उनले नियुक्ति गर्नुपर्नेछ ।
६ असारमा भएको निर्वाचनपछि बसेको कार्यसमितिको पहिलो बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्रमान जोशी र विदेश विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरिएको थियो ।











