Logo
Logo

ग्लोबल आइएमई बैंकको मुनाफा २५ प्रतिशतले बृद्धि



काठमाडौं । ग्लोबल आइएमई बैंकको मुनाफा २५ प्रतिशतले बृद्धि भएको छ । गत आब २०७८/०७९ मा ग्लोबल आइएमई बैंकले पाँच अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको हो ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले पाँच अर्ब २० करोड ६५ लाख रुपैयाँ नाफा आजर्न गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि सुधार भएको छ । अघिल्लो आबमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ । अघिल्लो आवमा २१ अर्ब ६३ करोड २५ लाख चुक्ता पूँजी रहेको बैंक्ले गत आबमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्याउादा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ ।

बैंकको सेयरधनी सञ्चित कोषमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा व्यवसाय विस्तारको तुलनामा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको छ ।

अघिल्लो आमा ३.६५ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.२६ पुगेको छ । जसले गर्दा बैंकको कर्जा विस्तारको तुलनामा खुद ब्याज आम्दानी तुलनात्मक रुपमा बढी बढेको छ ।

गत आबमा बैंकको निक्षेप दुई खर्ब ६८ अर्ब ४३ करोड ३८ लाखबाट ३.३७ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी दुई खर्ब २८ अर्ब ६५ करोड १४ बाट १३.०४ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब १३ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा १० अर्ब ७४ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको हो ।

यस्तै सञ्चालन खर्च सामान्य वृद्धि हुँदा बैंकको नाफा भने उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा २६.९० प्रतिशतले वृद्धि भएर सात अर्ब ५६ करोड दुई लाख पुगेको छ । अघिल्लो आवमा बैंकले पाँच अर्ब ९५ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.६० प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ ।

निष्कृय कर्जा १.४१ प्रतिशतबाट १.२२ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १३.२० प्रतिशतबाट घटेर १२.७२ प्रतिशत मा कायम भएको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्