Logo
Logo
कला

‘पहिलो गीतले नै मलाई चिनायो’



करिब दुई दशकअघि ‘धरान सुनसरी’ बोलको गीत निकै चर्चित थियो । त्यही पुर्वेली लोकआधुनिक गीतमाफर्त चिनिएकी गायिका हुन्, जशोदा सुब्बा । सानैदेखि गीत गाउन रुचाउँथिन् उनी । पुर्खौली ताप्लेजुङ भएपनि धरानमा हुर्केकी जशोदाले ‘धरान सुनसरी’ पहिलोपटक रेकर्ड गरेको गीत हो । २०६० सालतिर गाएको उक्त गीत नै जशोदाको पहिचान बन्यो । ‘अहिले पनि मलाई यही गीतले चिन्छन्’ जशोदाले भनिन्, ‘अहिलेसम्म दुई सयभन्दा बढी गाइसकेँ, तर धरान सुनसरी मेरो गायकीय पहिचान बन्यो ।’ गायिका जशोदा सुब्बासँग एमपी सुब्बासँगको जम्काभेट :

सन्चै हुनुहुन्छ ?
अहिलेसम्म चाहिँ सन्चै छु । गीतसंगीतमै दौडधुप चलिरहेको छ ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
केही नयाँ प्रोजेक्टहरु गर्दैछु । मेरो केही समयअघि मात्र ‘हेर्न मन लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा मेरो र राजेश चौधरीको युगल स्वर रहेको छ । यहाँहरुले युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको धेरै भयो है ?
धेरै नै भयो भन्नुपर्ला । २०६० सालदेखि गायनमा छु । चर्चामा आउनु नआउनु बेग्लै कुरा । तर, निरन्तर यही क्षेत्रमा छु ।

गीतसंगीत क्षेत्रले कसरी लोभ्यायो ?
सानैदेखि गायनमा मेरो रुची थियो । गीतसंगीत बुझ्न थालेदेखि नै गुनगुनाउँथे । मलाई थाहा भएअनुसार १० वर्षको हुँदादेखि गाउने गर्थेँ ।

तपाइँको पहिलो गीत कुन हो ?
धरान सुनसरी भन्ने गीत हो । यो गीत २०६० सालमा रेकर्ड गरेकी हुँ । मलाई सानैदेखि गाउने इच्छा थियो । तर, बल्ल २०६० सालमा आएर मात्र इच्छा पूरा गर्ने अवसर मिल्यो ।

तपाइँको पहिलो गीतलाई कतिको रुचाइएको थियो ?
त्यो गीत धेरै नै रुचाइयो । त्यही गीतले मलाई गायिकाको परिचय दिएको हो । अहिले पनि मलाई ‘धरान सुनसरी’ गीतका गायिका भनेर चिन्ने गर्छन् ।

२०६० सालतिर एल्बमको चलन थियो । तपाइँले पनि एल्बम निकाल्नुभयो होला नि ?
मैले तीन वटा एल्बम ल्याए । सन् २०१५ मा ‘आज’ र ‘धुनहरु’ नामक सोला एल्बम ल्याए । त्यसपछि २०१६ मा आएर लिम्बू भाषाको ‘इक्ला’ अर्थात स्वर नामक एल्बम ल्याएँ । त्यसपछि विस्तारै एल्बमको चलन नै हराउँदै गयो । मैले पनि सिंगल ट्रयाकहरु मात्र गाउन थालेँ ।

यहाँसम्म आइपुग्दा तपाइँको संगीतसाधन दुई दशक पुग्यो । अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले संख्यात्मक रुपमा खाशै धेरै गाएकी छैन । आफूलाई मनपर्ने कम्पोजका गीतहरु मात्र गाउने गरेकी छु । अहिलेसम्म दुई सयको हाराहारी पुग्यो होला । मेरो बिचमा साढे तीन वर्ष ब्रेक भयो ।

ब्रेक हुनको कारण के थियो ?
म दक्षिण कोरियामा साढे तीन वर्ष बसेँ । सानैदेखि कोरिया म्युजिक र फिल्महरु हेर्थेँ । मलाई कोरियन फेसन र जीवनशैली एकदमै मनपर्छ । त्यसैले त्यहाँको जीवनशैली नजिकबाट नियाल्न इच्छा थियो । मलाई कामभन्दा पनि त्यहाँको जीवनशैली र रहन सहन बुझ्नुथियो । तर, त्यहाँ गएपछि काम गर्नै प¥यो । अरुको देशमा काम नगरी खान पाइँदैन । मैले पनि साढे तीन वर्ष काम गरेँ । तर, मेरो लगाव र रुची गायनमै थियो । त्यसैले नेपाल फर्के ।

कोरियामा हुँदा गाउनुभएन ?
गाइनँ । कार्यक्रमहरुमा गाउनका लागि अफरहरुचाहिँ आउँथ्यो । तर, म गाउनका लागि कोरिया गएकी थिइनँ । त्यहाँको रहन सहन र जीवनशैलीले तानेर कोरिया पुगेकी हुँ ।

कोरियाको जीवनशैलीबाट के सिक्नुभयो ?
मिहिनेत, समयको अनुशासन र कामको सम्मान । कोरियनहरुले सबै कामलाई बराबर रुपमा लिन्छन् । समयको पनि उत्तिकै ख्याल गर्छन् । मिहिनेती त भए नै । तर, हामी नेपालीहरु यी तीनै कुरामा पछाडि छौँ ।

सयौँ गीत गाउनुभएको छ । तर, त्योअनुसार किन चर्चा पाउनुभएन ?
आफूलाई फोकस नगरेर होला । गीतसंगीत र मिडियाप्रति जति ध्यान दिनुपर्ने थियो, त्यति दिइनँ । मेरो स्वभावले पनि हो । आजभोलीका नयाँ पुस्तालाई हेर्छु, सबै भाइरल भइरहेका छन् । यो भाइरल हुने प्रवृतिले फाइदा पनि गर्ने रहेछ । तर, मलाई भारइल हुने सोच कहिल्यै आएन । अहिले पनि छैन ।

गीतसंगीतबाहेक अरु के गर्नुहुन्छ ?
सामान्य व्यवसायी गर्छु । तर, पेसा गायन नै हो । गायनलाई नै प्राथमिकता दिँदै आएकी छु । सानैदेखि गीतसंगीतमा रुची भएकाले अन्य सोच्न सकेकी छैन । अझै सिक्न बाँकी छ तर, अहिलेसम्म जति गीतसंगीतमा गरेँ, त्यसबाट खुसी छु ।

प्रतिक्रिया दिनुहोस्