
सोलुखुम्बु । ऐसेलुखर्क गाउँपालिका प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा परेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीलाई १ वर्ष कुनै पनि काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो । भवन निर्माणमा उक्त कम्पनीले लापरवाही गरेको जनाउँदै गाउँपालिकाले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको हो ।
भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहीन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोर पिलरको फेल भएको ल्याब रिपोर्टलाई पास भएको नक्कली ल्याब रिपोर्ट बनाएको खुलेको छ ।
त्यसपछि गाउँपालिकाले पुस ११ गते ठेक्का रद्द गर्ने, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेसम्मको प्रक्रिया अघि बढाएको थियो ।











