Logo
Logo

‘जनतालाई हप्कीदप्की होइन नमस्कार गर्नुस्’


माधवकुमार नेपाल


हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू तीन प्रकारका हुनुहुन्छ । पहिलो, पार्टीको चुनाव चिह्न कलम लिएर विजयी हुनुभएका । दोस्रो, हाम्रो उम्मेवार तर, अर्को पार्टीको चुनाव चिह्न लिएर विजयी हुनुभएका । र तेस्रो, स्वतन्त्रबाट निर्वाचितहरू । स्वतन्त्रबाट निर्वाचित कतिपय हाम्रो पार्टीका कार्यकर्ता पनि हुनुहुन्छ ।

कतिपय अरु पार्टीबाट अलग भएर स्वतन्त्र उठेर निर्वाचित भएका पनि हुनुहुन्छ । केही दिनअघि मलाई एकीकृत समाजवादी मन परेको छ भनेर स्वतन्त्रबाट निर्वाचित एक जना वडाध्यक्ष आउनुभएको थियो । अहिले नै पार्टी प्रवेश गर्ने कि भन्दै हुनुहुन्थ्यो । उहाँले म चार–पाँच जना जनप्रतिनिधिलाई लिएर आउँछु भन्दै हुनुहुन्थ्यो ।

हाम्रो पार्टीप्रतिको आकर्षण राम्रो छ । पार्टी संगठन कसरी विस्तार गर्ने भन्नेमा हाम्रो ध्यान हुनुपर्छ । पहिलो काम पार्टी निर्माण नै हो । पार्टीको कमिटी कस्तो बनाउने, जनसंगठनको कमिटी कस्तो बनाउने भन्नेमा हामीले विशेष ध्यान दिनुपर्ने छ ।

पार्टी संगठनलाई क्रियाशील बनाउँदैै, जनसंगठनहरूलाई विस्तार गर्दै जानुपर्ने छ । स्थानीय तहका जनप्रतिनिधिको कामको आधारमा प्रदेश सभा र प्रतिनिधि सभामा हाम्रो पार्टीको भोट निर्धारित हुन्छ ।

हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले राम्रो काम गरेपछि त्यसको सिधै प्रभाव जनतामा पर्छ । र, जनताले हाम्रो पार्टीको ‘कलम’ चुनाव चिह्नमा भोट हाल्छन् ।

गौरव गर्ने स्थिति बन्नुपर्छ
हामी आफ्ना कार्यकर्ताहरूको गुण र क्षमतालाई निरन्तर अघि बढाउन चाहन्छौँ । त्यसका लागि विचार प्रमुख कुरा हो । विचारबाटै ज्ञान हासिल हुन्छ । काम र व्यवहारबाट प्राप्त भएका अनुभवबाट पनि सिक्नुपर्छ । आफ्नै अनुभवहरूको पनि समीक्षा गर्नुपर्छ । अरुका अनुभवबाट पनि राम्रा कुराहरूलाई ग्रहण गरेर अगाडि बढ्नुपर्छ । कमिकमजोरीहरू हटाउनुपर्छ ।

जनताले जनप्रतिनिधिलाई खोज्दै भौतारिएर हिड्न नपरोस् । जनप्रतिनिधि निरन्तर जनताको सम्पर्कमा रहनुपर्छ । बेलाबेलामा विभिन्न पालिकामा जाने र त्यहाँका जनप्रतिनिधिसँग भेटघाट गर्नुपर्छ । उनीहरूको अनुभवबाट पनि सिक्नुपर्छ । नागरिक समाजका अगुवाको विचार पनि सुन्नुपर्छ । अनि, आम जनताको पीडा र बेदनाप्रति हामी सम्वेदनशील बन्नुपर्छ । जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्छ । काम परिणाममुखी हुनुपर्छ ।

जनप्रतिनिधिहरूले योजना बनाएरै काम गर्नुपर्छ । जबकि, हामीले गौरव गर्ने स्थिति बनोस् । भ्रष्टाचारमा कोही पनि लिप्त हुनुहुँदैन । भ्रष्टाचार गर्नेलाई पार्टीले कडा कारबाही गर्छ भन्ने हेक्का रहोस् । जनताको चाहना एउटा र जनप्रतिनिधिले गर्ने काम अर्को हुनु हुँदैन ।

परिणाम सिधै भोटमा
अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मंसिरमा हुने भएकाले तपाईंहरूको कामले पार्टीको मुल्यांकन हुन्छ । राम्रो काम गर्नुभयो भने परिणाम सिधै चुनावको भोटमा पर्छ । त्यसकारण बडो ध्यान दिएर काम गर्नुहोला ।

बोली व्यवहारमा नचुक्नुहोला । हप्कीदप्की नगर्नुहोला । जनताको समस्या र गुनासोमा कहिल्यै व्यवास्ता नगर्नुहोला । कान थुनेर बस्ने, जनताको कुरा नसुन्ने नगर्नुहोला । सबैसँग नम्र व्यवहार गर्नुहोला । म त जितिसकँे भनेर नमस्कार नफर्काउने गल्ती नगर्नुहोला । नमस्कार गर्ने काम अरुको हो, मेरो काम त टाउको हल्लाउने मात्रै हो भन्ने नठान्नुहोला । सुरुमा नमस्कार गर्ने काम तपाईँ कै हो ।

हाम्रा जनप्रतिनिधि इमान्दार हुनुपर्छ । क्रान्तिकारी सोचका साथ अगाडि बढ्नुपर्छ । प्रष्ट दृष्टिकोण बोकेर, गरिब र समस्यामा परेका जनता, युवा, महिलालगायत सबै समुदायका जनताको सेवामा समर्पित हुनुपर्छ । आफ्नो पालिकाको काम जनताको चाहना अनुसार गर्नुस ।

बजेट सोही अनुसार बनाउनुस् । हामी प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित बनाउँदै छौँ । पार्टीप्रति समर्पित भएको पंक्ति बनाउने अभियानमा हामी लागेका छौँ । पार्टीको झण्डालाई फहराउँदै कलम चिह्नलाई घरघरमा पु¥याउने अभियानको रुपमा आजैदेखि जुट्नुपर्छ ।

आफ्नै जगमा उभिने हो
हामी विचार मिल्ने अरु शक्तिलाई पनि एकतावद्ध बनाउँदै छौँ । एकतावद्ध बनाउने क्षमता हामीसँग छ र अहिलेको आवश्यकता पनि हो । गठबन्धनको विषयमा अरु पार्टीहरूसँग पनि हामीले कुराकानी गरिरहेका छौँ । कुनै पार्टीले पनि आफूलाई मात्र अपरिहार्य नठानोस् ।

हामी आफू बाहेक अरु कसैको पनि अर्थ छैन भनेर अवमुल्यन गर्ने काम नगरुन । त्यसकारण एकले अर्काको सम्मान गर्दै उसको खुवी, क्षमता र भूमिकालाई ध्यान दिएर हातेमालो गर्दै विन–विन अवस्थामा अघि बढ्ने काममा जुटुन ।

यसका निम्ति यो गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकतावद्ध गराउँदै वार्ता सम्वाद गर्दै अगाडि बढ्ने छौँ । त्यसका लागि हामीले आफ्नो जग अझै बलियो बनाउनुपर्ने छ ।

स्थानीय तहको महत्व
स्थानीय तहलाई हाम्रो पार्टीले जति महत्व अरूले दिएनन् । ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्दै नेपालको इतिहासमा कुन पार्टीले सुरु गर्यो ? स्थानीय तहका रकम छुट्टाएर पठाउने काम कुन पार्टीले सुरु गर्यो ? हाम्रो त्यो बेलामा पार्टी नेकपा एमाले थियो । त्यसको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । म आफैँ महासचिव थिएँ ।

२०५१ सालको सरकारमा म उपप्रधान, परराष्ट्र र रक्षा मन्त्री थिएँ । मैले नै पहल गरेर भरतमोहन अधिकारीसहित बसेर आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम सुरु गर्यौं । प्रत्येक गाउँमा बजेट पठायौँ । हाम्रै केही साथीहरूले यसको विरोध गर्नु भएको थियो ।

तर, हामीले स्थानीय स्तरबाटै विकास निर्माण हुनुपर्छ भनेर नीति बनायौँ र त्यसको कार्यान्वय पनि गर्यौं । शिक्षा, सडक, सिचाईं, स्वास्थ्य, सीप विकास, साना तथा घरेलु उद्योगलगायत ‘९ स’ अभियान हामीले नै सुरु गरेका हौँ ।

विगतको कामको मुल्यांकन गर्दै आगामी दिन लोकप्रिय कार्यक्रम गर्दै जानुपर्छ । राम्रो काम सिकेर आफ्नो पालिकामा लागू गर्नुपर्छ । नमूना पालिका बनाएर सबैको धन्यवादको पत्र बन्नुस् । तपाईंले गरेका राम्रो कामको पुस्तौँ पुस्ताले सम्झना गरुन् ।

समानुपातिकमा २५ लाख मत
स्थानीय तहमा थोरै उम्मेदवार हुँदा पनि हामीले पाएको सफल सानो होइन । ३५ हजारमध्ये २७.९२ प्रतिशतमा उम्मेदवारी दिएका थियौँ । त्यसमा पनि ९ लाख २७ हजार भोट पाएका छौँ । सबै स्थानमा उम्मेदवार उठाएको भए २५ लाख भन्दा धेरै भोट आउने थियो ।

स्थानीय तहमा उम्मेदवार भएको पार्टीको चिन्ह मात्रै राख्ने व्यवस्था भएको भए अझै राम्रो नतिजा आउने थियो । मत बदर हुँदा धेरै स्थानमा पार्टीका उम्मेदवार पराजित हुनु परेको छ । मत पत्र बदर नभएको भए इटहरीमा पनि हामीले जित्ने थियौँ । तुलसीपुर र बुटवलमा पनि हामी जित्ने थियौँ ।

आगामी निर्वाचनमा मत बदर नहोस भन्नेमा हामी सचेत हुनुपर्छ । समानुपातिकको मत कम्तिमा २५ लाख ल्याउने गरी हामीले विशेष अभियान चलाउनुपर्छ । अहिले हाम्रो हौसला बुलन्द भएको छ । प्रत्येक्षबाट पनि हाम्रा उम्मेदवार धेरै जिताउने अभियानमा हामी लागिसकेका छौँ ।

पार्टी पंक्ति आशावादी छ, उत्साही पनि छौँ । अझै राम्रो परिणाम ल्याउन सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट तयारीमा लाग्नुपर्छ । चुनावमा पार्टीलाई सशक्त रुपमा विजयी गराउने काममा हामी सबै लाग्नुपर्छ । यस काममा स्थानीय जनप्रतिनिधिको अझ ठूलो भूमिका रहन्छ ।

पुरानो पार्टी भन्दा भिन्न हुनुपर्छ
हामी पुरानो पार्टी भन्दा भिन्न हुनैपर्छ । पार्टीलाई व्यक्तिवादी प्रवृत्तिबाट टाढा राख्नुपर्छ । क्रान्तिकारी दृष्टिकोणबाट अगाडि बढाउनुपर्छ । संसद् विघटन गरेर सर्वोच्च अदालतलाई प्रभावमा पारेर गलत फैसला भयो ।

अदालतको फैसलामा एमाले र माओवादी फुटाउने काम केपी शर्मा ओलीले गरे । पार्टी कब्जा गर्ने र कारवाही गर्ने, अनि फेरि आम माफीको नाटक भयो । संसदीय दलको बैठकमा बोल्न नदिएर अपमानपूर्ण व्यवहार गरियो । यी सबै विषय स्वाभिमानी पार्टीका कार्यकर्ताहरू टुलुटुलु हेरेर बस्न चाहेनन् ।

हामीले नयाँ ढंगले अगाडि बढ्ने निर्णय लियौँ । वृहत कार्यकर्ता भेलाबाट विद्रोहको झन्डा उठाउने र समानान्तर गतिविधि गर्ने निर्णय भयो । त्यही जगमा आज हामी यो ठाउँमा आइपुगेका छौँ ।

(नेकपा एकीकृत समाजवादीको केन्द्रीय पार्टी स्कुल विभागले काठमाडौंमा आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको दुईदिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालको प्रशिक्षणको सार ।)

प्रतिक्रिया दिनुहोस्