
पर्वत । पहिरोका कारण कुश्मा नगरपालिका–१० पीपलटारीका ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।
सिमखेतस्थित बस्तीमाथिको फाँटबाट खसेको पहिरोले बस्ती नै बगाउने जोखिम रहेको स्थानीयले बताएका छन् । कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोका कारण विस्थापित भएका छन् ।
कुश्माका उपमेयर स्वस्थानी रिजाल, इन्जिनियरहरू शिवप्रसाद बराल र सञ्जय लामिछाने, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।
प्राविधिकको टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभिन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ ।












