Logo
Logo
कला

‘आफूले रोजेको क्षेत्रमा सधैं खुसी मिल्दोरहेछ’



मोडलिङ क्षेत्रमा परिचित छिन् साक्षी लम्साल । तर, साक्षीको परिचय यतिमै काफी हुन्न । एक कुसल कार्यक्रम प्रस्तोता पनि हुन् उनी । साथै, साक्षीका आवाजमा दर्जनौँ रेडियो तथा टिभी जिंगलहरू सुन्न सकिन्छ । रेडियो र टेलिभिजन विज्ञापनमा काम गर्दागर्दै मोडलिङमा पाइला राखेकी साक्षी एक समय टेलिभिजन प्रस्तोताका रुपमा समेत परिचित थिइन् । पछिल्लो समय उनी मोडलिङमै व्यस्त छिन् ।

मोडलिङलाई करिअरका रुपमा लिएकी ललितपुर भैंसेपाटीकी साक्षी भन्छिन्, ‘सुरुमा रहरले मोडलिङ अँगालँ, अहिले करिअरकै रुपमा लिएकी छु ।’ तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, शर्ट फिल्म र उतिकै संख्यामा रेडियो जिंगलमा ‘भ्वाइस ओभर’ गरिसकेकी साक्षीले केही भारतीय शर्ट फिल्ममा पनि अभिनय गरेकी छन् । मोडल साक्षी लम्सालसँग एमपी सुब्बाको जम्काभेट :


हिजोआज के गर्दै हुनुहुन्छ ?
जागीर र मोडलिङमा व्यस्त छु । एउटा कम्पनीमा मार्केटिङको जागीर गर्छु । जागीरका अलावा मोडलिङलाई समय दिइरहेकी छु ।

जागीरे भएर मोडलिङमा समय दिन भ्याइन्छ ?
भनिन्छ नि, जहाँ इच्छा, त्यहाँ उपाय । त्यस्तै, मोडलिङ मेरो इच्छा र करिअर भएकाले समय दिन भ्याइरहेकी छु ।

मोडलिङ गर्न थाल्नुुभएको कति भयो ?
मैले २०७३ सालदेखि मोडलिङ सुरु गरेकी हुँ । त्यसअघि रेडियो जिंगल र विज्ञापनहरु भ्वाइस ओभरका साथै अभिनय गर्थे । विज्ञापनबाटै मैले मोडलिङ सुरु गरेकी हुँ ।

आफूलाई कसरी चिनाउनुहुन्छ ?
हिजोआज मोडलकै रुपमा चिनाउने गरेकी छु किनकि अहिले मोडलिङमा करिअर बनाइसकेकी छु । यसका साथै, रेडियो जिंगल र भ्वाइस ओभर पनि गर्दै आएकी छु ।

प्राथमिकता कुनलाई दिनुभएको छ ?
प्राथमिकता यसैलाई भन्ने छैन । अझैपनि भ्वाइस ओभर गर्दै आएकी छु । म्युजिक भिडियो र विज्ञापनहरूमा मोडलिङ गर्दै आएकी छु । पाएको र भ्याएसम्म सबै काम गर्दै आएकी छु । अहिलेसम्म २५ वटा ब्राण्डको विज्ञापनमा काम गरेकी छु ।

कुनै समय टेलिभिजन प्रस्तोताका रुपमा चिनिनुहुन्थ्यो नि ?
त्यो समय टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिएँ । तर, अहिले चिन्नेहरूले मोडल नै भन्छन् । जनता टेलिभिजन र कान्तिपुरमा गरी तीन वर्ष कार्यक्रम प्रस्तोताका रुपमा काम गरेँ । त्यसैले अहिले पनि कतिपयले टेलिभिजन प्रस्तोताका रुपमा चिन्छन् ।

अहिलेसम्म कति म्युजिक भिडियो गर्नुभयो ?
तीन दर्जनभन्दा बढी भयो । सुरुदेखि नै अफर आएका सबै भिडियो गरेको भए ६०/७० वटा पुग्थ्यो होला । तर, सुरुमा सेलेक्टेड भिडियो मात्र गरेँ । हिजोआजचाहिँ अफर आएका प्रायः सबैमा गर्दै आएकी छु ।

तपाइँको ‘भ्वाइस ओभर’मा बढी प्रसारण हुने विज्ञापन कुन हो ?
एभेष्ट बैंकको ‘स्मार्ट नारी’ योजनाको विज्ञापन हो । यो विज्ञापन टिभी र रेडियोमा भन्दा युट्युब र फेसबुक पेजहरूमा धेरै आइरहेको हुन्छ ।

फिल्ममा प्रस्ताव आयो भने गर्नुहुन्छ ?
करिब पाँच वर्षअघि नै फिल्ममा काम गरिसकेकी छु । अहिले पनि अफरहरू आइरहेका छन् । तर, चित्तबुझ्दो आएको छैन । त्यसैले गरेकी छैन । यसअघि मैले रामकृष्ण बजगाइँको ‘मेरो गाउँ’ नामको फिल्म गरेकी हुँ । शर्ट फिल्महरु भने अहिले गर्दै आएकी छु । मैले हिन्दी शर्ट फिल्ममा पनि गरेकी छु ।

तपाइँ गर्नुभएको भारतीय शर्ट फिल्म कुन हो ?
मैले दुईवटा भारतीय शर्ट फिल्ममा काम गरेकी छु् । एउटा ‘मेनपावर’, जुन हिन्दीका अलावा नेपाली र अंग्रेजी भाषामा छ । यो फिल्ममा सुशील पोखरेलसँग काम गरेकी छु । अर्को ‘सन्तान’ हो, जसमा मिथिला शर्माले पनि काम गर्नुकभएको छ ।

कस्तो फिल्मका अफर आए गर्नुहुन्छ ?
खाशै मेरो डिमाण्ड छैन । मुख्य कुरा ब्यानर, टिम र स्टोरी राम्रो हुनुपर्छ । म जस्तो भूमिका पनि निर्वाह गर्न तयार छु । मलाई भूमिकामा समस्या छैन ।

मोडलिङमा खुसी हुनुहुन्छ ?
आफूले चाहेको क्षेत्रमा सधैँ खुसी मिल्दोेरहेछ । जहाँ नयाँ–नयाँ कुरा सिक्न पाएकी छु । साथीहरू पाएकी छु । अडियन्सको माया र हौसला पाएकै छु । रोजेको क्षेत्रलाई करिअर बनाएकी छु ।

लक्ष्य र उद्देश्य के हो ?
खाश भविष्यमै यही बन्छु भनेर अहिलेसम्म लक्ष्य बनाएको छैन । अहिलेसम्म मोडलिङलाई करिअरका रुपमा लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्