Logo

बैतडीबाट तीन वर्षमा दुई सय जना हराए



बैतडी । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन् ।

उक्त अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन् । ५९ जना अझै सम्पर्कविहीन रहेका छन् ।

हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ ।

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् ।

पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । उनले भने, ‘मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन्। उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन्।’ भागी बिहे गरेको धेरै वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा समेत नआउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्