Logo
Logo

तिलौराकोट चाँडै विश्व सम्पदा सूचीमा : पर्यटनमन्त्री



कपिलवस्तु । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् ।

तिलौराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । ‘भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल हो,’ उनले भने, ‘तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता छ ।’

तिलौराकोट दरबारको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए । सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए । तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो ।

भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्