Logo
Logo

थारू समुदायमा ‘गुरही’ पर्व मनाइँदै



कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन् ।

यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ । थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने, ‘गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहिआएको छ ।’ यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उनले बताए । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ ।

यो पर्व आज धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले बताए । कोभिड-१९ को संक्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व मनाउनका लागि ठाउँ-ठाउँमा भव्य तयारी गरिएको छ ।

पालिकाद्वारा सार्वजनिक बिदा

‘गुरही’ पर्वका अवसरमा आज कैलारी र जोशीपुर गाउँपालिका तथा भजनी नगरपालिकाले स्थानीय स्तरमा बिदा दिने निर्णय गरेका छन् । ती स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिन निर्णय गरिएकोे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्