Logo

पोखरामा भगिनी सहरको थिम पार्क बनाइने



पोखरा । नेपाल-चीन दौत्यसम्बन्ध स्थापनाको ६७औँ वर्षका अवसरमा युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखराका मेयर प्रमुख धनराज आचार्यसँग भेट गरेको छ ।

भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच हातेमालो गरेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो । लिङचेन हुँ नेतृत्वको पाँच सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनीसम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र पार्कमा ती सहरको पहिचान झल्किने कर्नर निर्माण गर्ने सहमति भएको मेयर आचार्यले बताए ।

थिम पार्क निर्माणले पोखरामा चिनियाँ पर्यटक बढ्ने विश्वास गरिएको छ । पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कको अध्ययन गरिरहेको छ । चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य सामग्री पोखरालाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनीसम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमासमेत छलफल भएको प्रमुख आचार्यले बताए । यस विषयमा चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ ।

पोखरा महानगरले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङलगायत सहरसँग भगिनीसम्बन्ध कायम गरेको छ ।

त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक सहरसँग पनि पोखराको भगिनीसम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्