Logo
Logo

नवलपरासीका एसपीमाथि प्रहरी प्रधान कार्यालयको छानबिन




काठमाडौं । दुई व्यक्तिलाई सुनियोजित रुपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा पश्चिम नवलपरासीका एसपी लगायत प्रहरीमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले जिल्लामै एक छानबिन टोली खटाएको छ ।


छानबिन टोलीले एसपीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकालेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग मिलेर दुई भारतीलाई पक्राउ गरिएको हो । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो । तर, थप छानबिनले सुनियोजित रूपमा उनीहरूलाई लागुऔषध मुद्दामा फसाइएको देखाएको छ ।

तर, पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको हो । निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन गरेको छ । पक्राउ परेका भारतीय नागरिक गुप्ता कवाडीको व्यापारमा आबद्ध व्यक्ति हुन् । नेपाल बस्दै आएका उनी र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य थियो । पछिल्लो समय आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएका थिए । उनले त्यसरी योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएको छानबिनमा खुलेको हो ।
पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटक–पटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए, र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको थियो ।

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । पूर्वप्रहरी धोबी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका सहयोगी हुन् । गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोत बताउँछ । घटनाको विषयमा विस्तृत छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘मुद्दामा फसाइएको हो कि भन्ने कुरा आएपछि छानबिन भइरहेको छ,’ उनले भने,‘छानबिन नटुंगिएकाले ठ्याक्कै के भएको हो प्रस्ट भइसकेको छैन ।’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध देखिन्छ । ‘उहाँ इन्स्पेक्टर हुँदा नवलपरासी बस्नुभएको रहेछ, त्यतिवेलादेखि नै दुईजनाबीच निकटता देखियो,’ ती अधिकारी भन्छन्, ‘त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई युवकलाई लागुऔषध मुद्दामा फसाउने प्रयास भएको देखिन्छ ।’ त्यो विषयमा गाउँपालिका अध्यक्ष गुप्ता र एसपीबीच पटक पटक कुराकानी भएको छानबिनमा पुष्टि भएको छ ।
गाउँपालिका अध्यक्ष गुप्ता माओवादीका नेता हुन् । उनको माओवादी अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । त्यहीकारण यो घटनामा आफु र एसपीलाई जोगाउन उनले प्रचण्डसँग समेत लबिइङ गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्