Logo

माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि संयन्त्र बन्छ- बेदुराम भुसाल


डा. बेदुराम भुसाल


नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचन तयारी कसरी गरिरहेको छ ?
स्थानीय तहको निर्वाचनपछि हामीले केन्द्रीय तहका बैठकहरू सम्पन्न गरेर आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको कार्ययोजना बनाएका छौँ । केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकबाट कार्ययोजना तय गरेर हामीले अहिले संगठन विस्तार र सुदृढिकरण अभियान संचालन गरिरहेका छौँ । वैचारिक तथा राजनीतिक प्रशिक्षण पनि अगाडि बढाएका छौँ । प्रचारप्रसारको कामलाई पनि तीब्रताका साथ अगाडि बढाएका छौँ । यी सबै कामको केन्द्रबिन्दु आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन नै हो ।

गठबन्धनसहित निर्वाचनमा जाने कि एक्लै ? के छ तयारी ?
आगामी निर्वाचनमा लगभग सबै पार्टीहरू गठबन्धन गरेर जान खोजिरहेका छन् । कसले कस्तो गठबन्धन गर्छ त्यो छुट्टै कुरा हो । तर, गठबन्धनको प्रयास सबै पार्टीहरूले गरिरहेका छन् । हामीले पनि विभिन्न खालका छलफलहरू गरिनै रहेका छौँ । वामपन्थीहरूको बीचमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने पाटोबाट एउटा छलफल चलिरहेको छ । त्यसमा एमाले बाहेकका वामपन्थीहरुको पनि कुरा छ र एमालेसँगै भयो भने कसरी हुन्छ भन्ने पनि छ । यद्यपि, एमालेसँगको गठबन्धनको सम्भावना कम छ । एमालेबाहेक निर्वाचनमा जाने वामपन्थी पार्टीहरूबीचको सहकार्यको कुरा चलिरहेको छ । अर्कोतर्फ, अहिलेको पाँचदलीय गठबन्धनको निरन्तरताको हिसाबले पनि कुराकानी चलिरहेको छ । विभिन्न कोणबाट छलफल चलिरहेको छ । केही समयमै एउटा निष्कर्षमा पुगिन्छ ।

पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पनि कुराकानी भएको थियो । निर्वाचनअघि ‘समाजवादी केन्द्र’ बन्ने सम्भावना कति छ ?
आन्तरिक छलफलको क्रममा समाजवादी केन्द्रको विषयले त्यति प्राथमिकता पाएको छैन । तपाईँले भनेको छलफलमा म पनि सहभागी थिएँ । त्यो छलफलमा समाजवादी केन्द्र बनाउने विषयले प्रवेश नै पाएन । अहिलेको गठबन्धन भित्रका वाम चरित्रका पार्टीको सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । साथै, कांग्रेससहितको पाँच दलीय गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पार्टीहरू बीचको सहकार्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा हामी छौँ । यसबाहेक पनि विभिन्न ढंगले छलफल चलेका छन् । तर, ती छलफलले मूर्त रुप लिइसकेको छैन ।
एउटा, तत्कालीन नेकपाकालका पाँचजना नेताको भेटघाट थियो । त्यो सामान्य भेटघाट थियो । तर, प्रचार बढी भयो । बाबुराम भट्टराईसहितको छलफलको पनि बढी नै प्रचार भयो । हामी अब सँगै बसेर जाऔँ भन्ने ढंगले ठोस कुराकानी भएकै छैन । समाजवादी केन्द्र निर्माणको विषयमा बाबुराम भट्टराईले अलि बढी भन्नुभयो भन्ने लाग्छ । बाबुरामजीको प्रस्तावमा अरुको सहमति, समर्थन भएको छैन ।

भनेपछि अबको गठबन्धन कस्तो बन्छ भन्ने विषयमा अझै प्रष्ट भइसकेको छैन ?
पाँचदलीय गठबन्धन त हुन्छ नै । विगतको स्थानीय तह निर्वाचनको अनुभवलाई समेत हेरेर आवश्यक निर्णय हुन्छ । गत स्थानीय निर्वाचनमा सबै ठाउँमा गठबन्धन हुन सकेन । केही निश्चित ठाउँमा मात्रै गठबन्धन भयो । आगामी निर्वाचनमा पनि सबै क्षेत्रमा भन्दा पनि निश्चित क्षेत्रमा गठबन्धन गरेर जाने पनि हुन सक्छ । केही ठाउँमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुने, कतिपय ठाउँमा कांग्रेस बाहेक गठबन्धनका अन्य दलहरूको साँझ उम्मेदवार हुने स्थिति पनि बन्न सक्छ । यद्यपि, त्यसबारे अहिले ठोस रुपमा काम भएको छैन ।

मुख्य रुपमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच निकटताको कुरा आयो ?
एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच तीन राउण्ड कुराकानी भएको छ । गत स्थानीय तह निर्वाचनको समीक्षामा पनि अलिकति समय खर्च भयो । गठबन्धन हुँदा के भयो, नहुँदा के भयो ? भन्ने विषयमा हामीले मसिनो गरी छलफल गरेका छौँ । ती छलफलको निष्कर्ष के हो भने, गठबन्धन गरेको ठाउँमा कमिकमजोरीको बाबजुत पनि परिणाम ठिकैठिकै आयो । यद्यपि, कतिपय ठाउँमा सोचेजस्तो परिणाम आएन । जहाँ गठबन्धन गरिएन, ती थुप्रै ठाउँमा परिणाम नकारात्मक आयो । ती ठाउँमा पनि गठबन्धन गर्न सकेको भए परिणाम सकारात्मक आउथ्यो ।
यदि, सबै ठाउँमा गठबन्धन गरेको भए अहिलेको भन्दा करिब १०० भन्दा बढी स्थानीय तहमा गठबन्धनका उम्मेदवारहरूले जित्थे । तथ्यांकले त्यस्तो बताउँछ । र, गठबन्धनभित्रका एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच मात्रै सहकार्य भएको भए पनि खासगरी मधेस प्रदेशमा अहिलेको भन्दा धेरै राम्रो परिणाम आउथ्यो । मधेस प्रदेशमा एकीकृत समाजवादी र माओवादी केन्द्र मात्रै मिलेको भए पनि अवस्था धेरै राम्रो हुने थियो भन्ने परिणामले देखाइसकेको छ । स्थानीय तह निर्वाचनको परिणामलाई पनि हेरेर आगामी दिनमा कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने हिसाबले छलफल गरिरहेका छौँ ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताको प्रक्रिया चाहिँ कहाँ पुग्यो ?
एकीकृत समाजवादी र माओवादी केन्द्रको बीचमा फेरि एकता गर्न किन सक्दैनौँ भन्ने ढंगबाट पनि छलफल सुरु भएको छ । हामी पहिले एउटै पार्टी नेकपामा थियौँ । हामी अदालतको फैसलाबाट अलग भएका हौँ । तर, अहिले तुरुन्तै एकीकरण गरिहाल्ने अवस्था चाहिँ बनिसकेको छैन । क्रमशः छलफल गर्दै जाने कुरा भएको छ । त्यसका लागि संयन्त्र पनि बनाएर जाऔँ भन्ने भएको छ ।

दुई दलको मात्रै एकता ?
एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकतालाई नेपाली कम्युनिष्ट आन्दोलनको एकताको आधार बनाउने गरी कोसिस गरौँ भन्ने भएको छ । त्यसको आधार तयारी गर्ने गरी संयन्त्र नै बनाएर काम गरौँ भन्ने बारेमा पनि छलफल चलिरहेको छ । तर, अहिले कुनै पनि खालको संयन्त्र बनिसकेको छैन ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता निर्वाचन अघि कि पछि त ?
एकताका लागि अध्ययन, छलफल, बहस चलाउनुपर्ने आवश्यकता छ । अहिले तत्काल निर्वाचनमै जानुपर्ने भएकाले त्यतातर्फ हामीले त्यति धेरै समय दिन नसकौँला । तर, क्रमशः गर्दै जाऔँ भन्ने हिसाबले आधार के छन, कसरी निर्माण गर्न सकिन्छ भन्ने अध्ययन गर्ने, छलफल गर्ने काम गर्न सकिन्छ कि भन्ने छ । अहिले यसरी नै जाऔँ भन्ने टुंगोमा पुगिएको छैन ।

स्थानीय तह निर्वाचनमा पनि एकीकृत समाजवादीका कार्यकर्ता गठबन्धन भइहाल्छ भनेर ढुक्कले बसे । तर, सोचे जसरी गठबन्धन हुन सकेन । सबै स्थानमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारीसमेत परेन । प्रदेश र संघको निर्वाचनमा पनि कतै त्यस्तै अवस्था आउने त होइन ?
स्थानीय तह निर्वाचनमा जुन खालको उम्मेदवारी नदिने स्थिति बन्यो, त्यसलाई चिर्नुपर्छ भन्ने छ । र, आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय तहको निर्वाचनको जस्तो हुँदैन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सबै सिटमा केन्द्रबाटै निर्धारण हुन्छ । आवश्यकताको आधारमा प्रतिनिधि सभाका १६५ वटै क्षेत्र र प्रदेश सभाका ३३० वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार खडा गर्न तयार छन् । माथिल्लो तहका नेताहरू नै धेरै उम्मेदवार बन्ने भएकाले तत्कालै उम्मेदवारी दिनुपर्ने अवस्था आउँदा पनि अप्ठ्यारो हुँदैन । हामीले ध्यान दिनुपर्ने कुरा के छ भने, धेरैभन्दा धेरै जनताको बीचमा कसरी पुग्न सकिन्छ भन्नेमा आजैबाट लाग्नुपर्छ ।
तपाईँले भनेजस्तै स्थानीय तह निर्वाचनमा गठबन्धन भइहाल्छ किन धेरै तयारी गर्नू भन्ने मानसिकताले केही हदसम्म काम गरेकै हो । गठबन्धन हुन्छ भन्ने आशामा बसेका साथीहरू गठबन्धन नभएपछि उम्मेदवारी दिन जाँगर कम गरेको पनि हो । सबै ठाउँमा गठबन्धन नभएपछि गठबन्धन नभएको ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्ने कुरा त भयो । तर, उम्मेदवारी दर्ताका लागि ढिला भइसकेको थियो । अब, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा स्थानीय तहको जस्तो कमजोरी हुँदैन ।

एकीकृत समाजवादीको दाबी कति सिटमा हो ?
औपचारिक रुपमा कुनै पनि पार्टीले हामीलाई यति सिट भनेका छैनन् । हामीले पनि यति सिट हुनुपर्छ भनेका छैनौँ ।

कांग्रेसले त १०० हाराहारीको सिट दाबी गरेको छ नि ?
कांग्रेस नेताहरूले १०० माइनसको कुरा बाहिर ल्याएका छन् । १०० बाट ९० सिटमा झरेको कुरा पनि कांग्रेसका नेताहरुबाट आएको छ । त्यो उहाँहरुको कुरा हो । तर, औपचारिक रुपमा अहिले सिटको बारेमा कुरा भएको छैन । सिटको संख्याकै विषयमा अब कुरा सुरु हुन्छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले समाजवादी मोर्चाबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने र आवश्यकता परेको ठाउँमा मात्र कांग्रेससँग तालमेल गर्ने कुरा गर्नुभएको थियो नि ?
त्यो उहाँको व्यक्तिगत धारणा होला । त्यस ढंगले हामीले निर्णय गरेका छैनौँ । बरु, हामी जति पनि निर्वाचनमा मिलेर जान्छौँ, ति सबैले एउटै निर्वाचन चिह्नमा जान सकिन्छ कि सकिन्नँ भन्ने छलफल भएको थियो । त्यसमा दुईटा पक्ष छन् । एउटा, एउटै निर्वाचन चिह्न लिएर जाँदा प्रचारको एउटा आधार हुन्छ । तर, त्यहाँ समानुपातिकका उम्मेदवार थोरै हुन्छन । अलग–अलग जाँदा सबै पार्टीका समानुपातिकका उम्मेदवार धेरै हुने भए । त्यसकारण तीन पार्टीबाट तीनजना, चार पार्टी भए चार जना उम्मेदवार हुने स्थिति बन्छ । त्यस्तो अवस्थामा समानुपातिकमा धेरै मत प्राप्त गर्ने अवस्था हुन सक्छ ।
फेरि, कानुनी हिसाबले पार्टी एकता भएन भने निर्वाचित जनप्रतिनिधिलाई कुन पार्टीको कसरी मान्ने ? कानुनी हिसाबले त्यसको पनि समस्या छ । अनेकन पक्ष भएकाले ती सबै पक्षमा छलफल गरौँ भन्ने छ । सबै बिषयमा छलफल भएका छन्, तर, टुंगोमा पुगिसकेको अवस्था छैन ।

साझा घोषणापत्रको सम्भावना चाहिँ प्रवल छ होइन ?
निर्वाचनमा एउटै घोषणापत्र लिएर जान सकिन्छ कि भन्ने छ । त्यसका लागि कुन–कुन विषय उठाएर जाने भन्नेमा छलफल गरौँ भन्ने छ । एउटै घोषणापत्र भयो भने हाम्रो साझा धारणा भनेर जान सकिन्छ । एकरुपताको साथ प्रचार गर्न सकिन्छ ।

कांग्रेस बाहेक पाँचदलीय गठबन्धन भित्रका दलहरूको एउटै घोषणापत्र कि कांग्रेसको पनि ?
कांंग्रेससँग एउटै घोषणापत्र बनाउँदा केही विषय मिल्दैनन् भन्ने छ । त्यसकारण वामपन्थी आधार भएका दलहरूबीच एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने कुरा भइरहेको छ । कांग्रेससँग पनि न्यूनतम साझा विषय समेटेर संयुक्त घोषणापत्र लिएर निर्वाचनमा जान नसकिने होइन । तर, कांग्रेससँग यस विषयमा छलफल भएको छैन ।

पार्टी गठन भएको एक वर्ष पुग्न लाग्यो । तपाईं संगठन विभागको प्रमुख पनि हुनुहुन्छ । संगठनको स्थिति कस्तो छ ?
हामीसँग अहिले कमिटीमा संगठित भएकाको मात्रै अभिलेख छ । संगठन विस्तार र सुदृढिकरण अभियान अन्तर्गत हामी ७७ वटै जिल्लामा संगठित छौँ । ७५ प्रतिशत पालिका तहमा संगठित छौँ । २५ प्रतिशत पालिकामा हाम्रो कमिटी बन्न बाँकी छ । ६० प्रतिशत वडामा हाम्रो कमिटी बनेका छन् । निर्वाचन अघि सबै ठाउँमा कमिटी बनाउने गरी हामीले काम गरिरहेका छौँ । दोस्रो बनेका कमिटीहरूलाई सुदृढ बनाउने अभियानमा हामी छौँ । पार्टीमा संगठित सबै कमरेडहरूको अभिलेख व्यवस्थित गर्ने र जनसंगठनका कमिटीहरूको पनि अभिलेख व्यवस्थित गर्ने अभियान पनि जारी छ ।

वैचारिक अभियान चाहिँ कसरी व्यवस्थित हुन्छ ?
अर्कोतर्फ हामीले वैचारिक अभियान चलाउँदै छौँ । त्यसक्रममा व्यापक रुपमा प्रशिक्षण अभियान संचालन गर्दै छौँ । त्यसका लागि हामीले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छौँ । पार्टीको विचारलाई व्यापक मात्रामा कार्यकर्ताबीच लैजाने र कार्यकर्तामार्फत जनताको बीचमा लैजाने क्रममा हामी छौँ ।

एकीकृत समाजवादीका पूर्वमन्त्रीहरूले पार्टीको जिम्मेवारी कहिले पाउँछन ?
उहाँहरूको जिम्मेवारी अब तोकिन्छ । अहिले मन्त्रीमा गएकालाई बिदा गरेर उहाँहरू (पूर्वमन्त्री)लाई जिम्मेवारी दिनुपर्ने हुन्छ । ठ्याक्कै त्यही ठाउँमा पठाउन मिल्ने–नमिल्ने खालको समस्या पनि हुन सक्छ । पूर्वमन्त्रीहरूको मात्र होइन, एक वर्षको कामको अनुभवलाई हेरेर कार्यविभाजनमा केही हेरफेर गर्नुपर्छ कि भन्ने ढंगले छलफल चलेको छ । त्यसकारण जिम्मेवारी तोक्न अलिकति ढिला भएको हो । कार्यविभाजन छिट्टै टुंगिन्छ ।

नेता–कार्यकर्तालाई केही भन्नु छ ?
नेपाली समाजमा रहेका समस्याहरूको विश्लेषण कसरी गर्ने, यसबाट अगाडि बढ्न कस्तो दृष्टिकोण राख्ने भन्ने नै मुख्य कुरा हो । मुलुकको अहिलेको अवस्थाबाट समाजवादको दिशामा अगाडि बढ्नुपर्छ । हाम्रो मुख्य कार्यदिशा यही हो । आजको नेपाली समाजलाई अगाडि बढाउनका निम्ति हिड्नुपर्ने बाटो यही हो । यो बाटोमा हिड्नका निम्ति हामी वैचारिक, सांगठनिक र प्रचारात्मक ढंगले पनि संगठित र व्यवस्थित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि नै हामीले विद्रोहको बाटो रोजेका हौँ । नयाँ ढंगले पार्टी निर्माणको अभियान सुरु गरेका हौँ । यस अभियानमा हामीले देशव्यापी रुपमा संगठन विस्तार ग¥यौँ । तर, वैचारिक हिसाबले जति मात्रामा प्रष्ट बनाउनुपर्ने हो, त्यो चाहिँ बाँकी छ । हामी जुन लक्ष्यका साथ अगाडि बढेका छौँ, त्यसमा दृढतापूर्वक अगाडि बढ्छौँ । आजसम्मको प्रगतिलाई हेर्दा हामीले जे सोचेर कदम चालेका छौँ, त्यसमा सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्