Logo

सप्तकोसी बाढी अपडेट : प्रभावित क्षेत्रमै विपद् व्यवस्थापनको बैठक



विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिम तर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरु, मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु सहभागी छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ विरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोशी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा उपस्थित भएर सुरक्षा र उद्दार कार्यमा सहजीकरण गरिरहेका छन् ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोशी नगरपालिकामासमेत क्षति गर्न सक्ने भएकोले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्न स्थानीय तहका प्रमुखहरुले आग्रह गरेका छन् ।

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको जानकारी दिए । । ‘हामी सबै प्रभावित क्षेत्रमानै उपस्थित भएका छौं र यहिँ बैठक बसेर उद्दार, व्यवस्थापन र राहतको बारेमा गर्नुपर्ने आवश्यक निर्णय लिनेछौं ।’

अनुगमनका क्रममा सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकाका प्रमुखहरु ललनप्रसाद गुप्ता र कृष्णप्रसाद ढकालले दुई नगरपालिकाका झण्डै ३२०० परिवार प्रभावित हुने भएकोले उनीहरुलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्