Logo
Logo

पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इंचार्जलाई



रुकुम । रुकुम पूर्वको पृथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन् । सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इंचार्जले पञ्जीकरणको काम गर्दै आएका छन् ।

वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् ।

वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पृथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताए ।

कतिपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगीले पनि गर्दै आएको उनी बताउछन् । घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आएका छन् ।

वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताए ।

प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आएका छन् । ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोट/पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताए । वडा सचिवविहीन हुँदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए ।

वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिकाभित्रका धेरै नागरिकको समयमै मृत्यु, जन्म, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतिपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्