Logo

सरूवा विवाद : मेयरले नै लगाए कार्यकारीको कक्षमा ताला



बारा । निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी) को कार्यकक्षमा ताला लगाएका छन् ।
संघीय मामिला मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
यसले कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ ।

मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको थियो । तर, पुनः साउन १५ गते उक्त निर्णय उल्ट्याउँदै सुमनकुमार कार्कीलाई पठाएपछि जनप्रतिनिधि असन्तुष्ट बनेका हुन् । कार्की यसअघि पनि उक्त नगरपालिकामा कार्यकारी थिए ।

उनले नगरसभाका पदाधिकारीसँग समन्वय नगरी काम गरेपछि मेयर पुरीले सरुवा गराएका थिए । तर, मन्त्रालयले उनैलाई पठाएपछि पुनः हाजिर नगराउने अडानका साथ पुरीले तालाबन्दी लगाएका हुन् । साउन १३ गते कार्यालयमा हाजिर भएका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो ।

मन्त्रालयले खटाएको स्थानमा काम जानु आफ्नो र्कतव्य भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिक्रिया दिए ।

जनप्रतिनिधिसँग कर्मचारीले समन्वय नगरे मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर मेयर आफैँले तालाबन्दी गर्न नमिल्ने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्