धनगढी । सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालस्थित कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत कञ्चनपुर भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो । तर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।
उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए । नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो ।