Logo
Logo
कला

‘सानैदेखि गाउन भनेपछि हुरुक्कै हुन्थेँ’



बेलायतबाट आउनेवित्तिकै गायिका अनिला राई गीत रेर्कड गर्न भ्याइनभ्याई छिन् । नयाँ एल्बम ‘एन्जेलिना’का लागि उनी विदामा नेपाल आएकी हुन् । १७ वर्षदेखि बेलायत बस्दै आएकी अनिलाको ‘एन्जेलिना’ सातौँ एल्बम हो । उनका अनुसार कोरोना महामारी नभइदिएको भए ‘एन्जेलिना’ दुई वर्षअघि दर्शक/श्रोतासमक्ष आइसक्थ्यो । ६ वर्षपछि नेपाल आएकी अनिलाले भनिन्, ‘महामारीले गर्दा एल्बम ल्याउन दुई वर्ष ढिलाइ भयो ।’

अनिलाले एल्बमसँगै एक गीति पुस्तक पनि ल्याउँदैछिन् । ६ हप्ताको मात्र विदा भएकाले हतारमा काम गरिरहेकी उनले ६ वटा गीत र एक म्यजिक भिडियोको छायाँकन गर्न भ्याइसकेकी छन् । दुई दशकदेखि गायनमा सक्रिय अनिलाका ‘टलटल टल्कियो’, ‘यो मनको रहर’, ‘बादलसँगै’जस्ता दर्जनौँ गीत चर्चित छन् । गायिका अनिला राईसँग एमपी सुब्बाको जम्काभेट :

नेपाल आउनेवित्तिकै रेकर्डिङमा व्यस्त हुनुभयो है ?
हो नि, विदा छोटो छ । जम्मा ६ हप्ताको विदामा आएकी हुँ । यही समयमा एल्बम र एउटा गीति पुस्तक तयार गर्नुछ । त्यसैले व्यस्त भएँ ।

कति वर्षपछि नेपाल आउनुभएको हो ?
६ वर्षपछि आएको नि । दुई वर्षअघि नै नेपाल आउन खोजेकी थिएँ । तर, कोरोना महामारीले गर्दा आउन पाइनँ । कोरोनाले गर्दा एल्बम गर्न दुई वर्ष ढिलाइ भयो ।

एल्बमकै लागि नेपाल आउनुभएको हो ?
एल्बम र परिवारसँग भेटघाटका लागि आएकी हुँ । तर, एल्बमकै कामले भ्याइनभ्याई भएकी छु । परिवार र साथीभाइसँग राम्ररी बसेर कुरा गर्ने फुर्सदसमेत मिलाउन सकेको छैन ।

नेपाल आउनुभएको हप्तादिन वितिसक्यो, कति गीत रेकर्डिङ गर्नुभयो ?
म यहाँ आएको भोलिपल्टबाटै रेकर्डिङमा लागेकी हुँ । यसबीचमा ६ वटा गीतको रेकर्डिङ सकाएँ । एल्बमका लागि फोटोसुट पनि गर्न भ्याएँ । एउटा गीतको सुटिङ गर्न भ्याएँ । अझै केही दिन रेकर्डिङमै व्यस्त हुनेछु ।

एल्बमको जमाना छैन । किन एल्बम ल्याउन खोज्दै हुनुहुन्छ ?
मेरो शब्द रचनाहरुलाई संग्रह गर्ने उद्देश्यले एल्बम ल्याउन लागेकी हुँ । एल्बम ‘एन्जेलिना’मा मेरो सोलो शब्दरचना रहेको छ ।

एल्बममा कति वटा गीत समेट्दै हुनुहुन्छ ?
एल्बममा ११ वटा गीत राख्दैछु । त्यसमा सबै प्रकारमा गीत रहेका छन् । लोकआधुनिकदेखि आमा छोरी र पल्टने जीवनलाई समेट्ने गीतहरु तयार गरेकी छु ।

गीतसंगीतमा ठूलै लगानी गर्दै हुनुहुन्छ । यो सबै केका लागि ?
गीतसंगीत मेरो भित्री मनदेखिको मोह र रुची हो । गीतसंगीत मेरो जीवन हो । गीतसंगीत विना बाँच्न सक्दिनँ । गीतले नै बाँचेकी छु । कोरोनाबाट संक्रमित भएर अन्तिम अवस्था पुगेका बेला पनि भनेकी थिएँ, ‘मरे भनेपनि मेरो गीत रेकर्ड गराइदिनु है ।’ तर, कोरोनालाई जित्न सफल भएँ । त्यही भएर अहिले एल्बम ल्याउँदैछु ।

एल्बम, पुस्तक र भिडियोका लागि खर्च अनुमान कति गर्नुभएको छ ?
खर्च धेरै नै होला जस्तो छ । २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेकी छु । तर, काम गर्दै जाँदा अझ बढ्न पनि सक्छ ।

गीतसंगीतप्रति यति धेरै लगाव कसरी बढ्यो ?
सानैदेखि गीतसंगीतप्रति हुरुक्कै हुन्थेँ । त्यो बेला स्कुलमा हुने प्रत्येक कार्यक्रमहरु नाच्ने र गाउने गर्दथे । जब एसएलसी दिएँ, त्यसपछि आफ्नो रहर र इच्छा पूरा गर्न गायनलाई अँगालेकी हुँ ।

गीतसंगीतमा कसरी प्रभावित हुनुभयो ?
सानोमा रेडियो बढी सुन्थेँ । रेडियोमा तारादेवी, अरुणिमा लामा, नारायण गोपालहरुको गीत सुन्थेँ । त्योभन्दा मलाई प्रभावित पार्नेचाहिँ ‘गीताञ्जली’ कार्यक्रम हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने गीतसंगीत सम्बन्धी कार्यक्रम ‘गीताञ्जली’ नछुटाइ हेर्थे । गीताञ्जली टिभीमा आउने दिन एकदमै खुसी हुन्थे । गीताञ्जली हेरेरै गीतसंगीतमा प्रभावित भएकी हुँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
सयौँ पुग्यो होला । एल्बम नै सात वटा हुँदैछ । एन्जेलिना मेरो सातौँ एल्बम हो । केही फिल्मका गीत पनि गाएकी छु । मैले गाएको नेपाली फिल्म ‘विरविक्रम’को ‘टलटल टल्कियो’ हिट पनि भयो । साथै, मैले गाएका पुर्वेली लोकगीतहरु पनि श्रोता रुचाएका छन् ।

विदेशमा बसेर गीतसंगीतलाई निरन्तरता दिँदै आउनुभएको छ । समय कसरी मेनेज गर्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा इच्छा हो । इच्छा र रुची भएपछि समय मिलाउन सकिने रहेछ । युकेमा पनि मेरो शेड्अल एकदमै व्यस्त हुन्छ । व्यस्तताको बाबजुद पनि रियाज गर्ने, गीत लेख्ने र कार्यक्रमहरुमा गाउन भ्याउँदै आएकी छु ।

गाउने रहर कहिलेसम्म ?
मेरो गाउने रहर कहिल्यै पूरा हुँदैन । सकेसम्म गाउने छु । अहिलेसम्म जति गाएँ, त्यसबाट सन्तुष्ट छु ।

प्रतिक्रिया दिनुहोस्