Logo
Logo

वाणिज्य बैंकको नाफा १४ अर्बले बढ्यो, धेरै नाफा कमाउनेमा ग्लोबल



काठमाडौं । कर्जा प्रवाह ठप्प हुँदा पनि वाणिज्य बैंकले गत आर्थिक वर्षमा उल्लेख्य नाफा आर्जन गरेका छन् ।

तरलता अभावबीच बैंकले ७४ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका हुन् । यो २०७७/७८ भन्दा १४ अर्ब रुपैयाँ बढी हो । सो वर्ष ६० अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका थिए ।

२६ वटा वाणिज्य बैंकको नाफा औसतमा २३.१४ प्रतिशतले बढेको हो । ३ वटा बैंकको नाफा भने घटेको छ । बैंकको कर्जा लगानी १५.३९ प्रतिशतले बढेर ४० खर्ब पुगेको छ । कर्जा लगानीको वृद्धिदर कम भएपनि बैंकहरूले नाफा उल्लेख्य बढाएका छन् ।

आर्थिक वर्षको सुरूमै उच्च दरमा कर्जा बढाएका बैंकले पछि यसलाई घटाएका थिए । पुससम्ममै बैंकको कर्जा लगानीबाट नाफा कायम हुने अवस्था थियो । साउन भदौमा सबै बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिदर ३१ प्रतिशतसम्म पुगेको थियो ।

बैंकको नाफामा भएको वृद्धिसँगै सेयर लागनीकर्तालाई बाड्न मिल्ने लाभांश रकम ३ खर्ब ५६ अर्ब पुगेको छ । बैंकको प्रति सेयर आम्दानी औसतमा १८ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको छ । बैंकले १ खर्ब ८ अर्ब कर्जाको ब्याज उठाउन सकेका छैनन् ।

सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । वाणिज्य बैंकले असारमसान्तसम्म ५ अर्ब २१ करोड ४२ लाख नाफा आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको नबिल बैंकले ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने बैंकमा एनआइसी एशिया पनि छ । बैंकले असार मसान्तसम्म ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख नाफा कमाएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्