Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा


504
Shares

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो ।

करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान-अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम भने अझै सुरु भएको छैन । डाँडो कटान र ल्यान्डफिल साइट नहटाउँदासम्म उडान-अवतरण गर्न जोखिमपूर्ण रहेको क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।

त्यस्तै, विमानस्थल सञ्चालनमा आउने टुङ्गो भइसक्दा पनि पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन । विमानस्थलछेवैमा ल्यान्डफिल साइट रहेका कारण चराचुरुङ्गी र जनावरहरू आइरहने भएकाले जहाज उडान–अवतरणमा जोखिमपूर्ण हुने देखिन्छ । छिटोभन्दा छिटो सम्पूर्ण कामहरू सकेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

वन तथा भू–संरक्षण विभागले रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिइसकेको छ । यो विषयमा वन विभाग र क्यानबीच १४ असारमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

रिट्ठेपानी डाँडो कटान गर्न कानुनी बाटो खुले पनि सार्वजनिक खरिद प्रक्रियामार्फत अगाडि बढ्दा समय लाग्ने क्यानका उच्च अधिकारी बताउँछन् । त्यसो त बर्सातको समयमा डाँडो कटान पनि चुनौतीपूर्ण हुन्छ । सोही कारण डाँडो कटानको स्वीकृति पाएको एक महिना बितिसक्दा पनि क्यानले प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्