Logo

सफाइ श्रमिकको गुनासो : फोहरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ



काठमाडौं । धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहोर सङ्कलनका लागि निस्कछन् । विगत तीन वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि-५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गर्याे । अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने ।

उनी मात्रै होइन, उपत्यकामा फोहर सङ्कलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुरस्थित शाखा कार्यालयमा फोहोर सङ्कलनमा खटिने ६९ जनाको दिनचर्या यसैगरी बित्छ । सामान्य मास्क र पञ्जा त छ नै तर फोहोरबाट हुन सक्ने सङ्क्रमण रोक्ने कपडा भने छैन । न घाम, न पानी, न चाडपर्व । कुनै पनि कठिनाइको प्रवाह नगरी निरन्तर नगर सफा बनाउन लागि परेका सफाइकर्मीको जीवन भोगाइ भने पीडादायी छ ।

कोरोना महामारीको समयमा सरकारले ‘लकडाउन’ गर्यो । सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित भए । सबै नागरिकलाई घरभित्रै सीमित गरियो । तर अत्यावश्यक सेवा मानिएको फोहर सङ्कलन र व्यवस्थापनमा कुनै रोकतोक भएन । फोहर सङ्कलनका लागि घरघर पुग्दा उल्टै आफूहरूमाथि कोरोना सङ्क्रमण लिएर आएको भन्दै दुर्व्यवहार गर्ने गरेको थुप्रैको दुखेसोसहितको तीतो अनुभव छ ।

घर, टोल, यत्रतत्र छरिएका फोहोरको व्यवस्थापन गरेर शहरलाई स्वच्छ र सुन्दर बनाउने सफाइकर्मीमाथि गरिने हेला र तिरस्कारले मानव सभ्यतालाई नै गिज्याइरहेको उनको गुनासो छ । फोहोर संकलनमा खटिनेमाथि गरिने दुर्व्यवहारले नेपालीको पहिचानका रूपमा स्थापित हार्दिकतालाई चुनौती दिएको छ ।

गुरागाईं भन्छन्, ‘बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर कार्यालय आउँछौँ, खाना त्यही राखेर आफ्नो क्षेत्रमा फोहर सङ्कलन गर्न हामी निस्कन्छौँ । टोल बस्तीमा सिठ्ठी फुक्दै जान्छौँ, फोहोर घर बाहिर निस्कन्छन, हामी टिपेर ट्र्याक्टर, ट्रकमा हालेर ल्याउँछौँ, यो हाम्रो दैनिकी नै हो ।’

फोहोर संकलनमा बिहान भोकै निस्कने श्रमिक फोहर सङ्कलन गर्ने क्रममै भोकै हुन्छन् । फोहोर सङ्कलनका क्रममा खाजा खाने अवस्था पनि रहँदैन । गुरागाईँका अनुसार फोहर लिएर कार्यालयमा आएपछि बल्ल खानाको मेसो मिल्छ । कहिले त सडक जाम हुँदा फोहाेर लिएर आइपुग्दै दिन बित्छ, त्यतिखेरसम्म भोकै बस्नु पर्छ । ‘तर सभ्य मानिसको असभ्य व्यवहार देखेर दिक्क लाग्छ’, उनले भने ।

दोलखा घरभई कमलविनायक बस्दै आएका ३१ वर्षीय भीमकुमार थामीका अनुसार सफाइकर्मी श्रमिक बिहान ६ बजे आ–आफ्नो तोकिएको क्षेत्रमा फोहोर सङ्कलनका लागि गइसक्छन् । कतिपय ठाउँको फोहोर धेरै हुँदा दोहोर्याएर जानुपर्छ । फोहोर सङ्कलनमा जाँदा अलि ढिला भयो भने कतिपयले अभद्र व्यवहार गर्न भ्याइहाल्छन् ।

थामी भन्छन्, ‘सभ्य समाजका सभ्य मानिस हजुर, तर हामीप्रति कोहीकोही त साह्रै असभ्य व्यवहार गर्छन् । फोहोर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाँही यो मन साह्रै दुख्छ ।’ उनलाई फोहोरको गन्धले भन्दा पनि घरधनीको व्यवहारले मन पोल्छ ।

विगत पाँच वर्षदेखि फोहर सङ्कलन गर्दै आएका भोजपुर घरभई निकोसेरा बस्ने तीलकबहादुर रम्तेल फोहोर सङ्कलन गर्दा होस् वा फोहोर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित मानिसको अशिक्षित व्यवहारबाट प्रताडित बन्छन् । उनी भन्छन्, ‘फोहोर बोकेर फर्केको गाडीलाई अरु निजी गाडीले बाटो दिँदैनन्, हेप्छन् हामीलाई । फोहरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन् । तैपनि हामी सहेर काम गर्छौँ, उनीहरूसँग केही बोल्दैनौं ।’

विगत १० वर्षदेखि फोहर सङ्कलनकै काम गर्दै आउनुभएका इलाम घरभई कटुञ्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ । फोहोरमैलामा काम गर्ने पनि फोहरी हुन् भन्ने व्यवहार गर्ने गरेको भन्दै कतिपयले खाउँला झै गरेर गाली गर्ने गरेको घटना सुनाउँछन् ।

ओखलढुङ्गा घरभई नेप्सेम्याकको कार्यालयमै बस्दै आएका ठगबहादुर दर्जी खान हुने र नहुने छुट्ट्याएर खान सक्ने तर कुहिने र नकुहिने फोहोर छुट्ट्याउन किन नसकेका होलान् भनी अचम्मित हुन्छन् । कतिपयले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखिदिन्छन् । कतिपयले भने घरभित्रको फोहर सडकमा ल्याएर फालिदिन्छन् । ‘फोहोर छरेर राखिदिने, कुहिने र नकुहिने नछुट्याउने, फलाम, सीसासमेत एकै ठाउँमा राखिदिने फोहोरको सङ्कलन र व्यवस्थापनमा जोखिम हुने गरेको छ’, उनले भने ।

मानिसले घर अगाडि जथाभाबी फोहर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहरसमेत टिप्नुपर्ने उनको गुनासो छ । बधशालाका फोहर र हड्डीको व्यवस्थापनमा पनि समस्या छ । ती फोहर जथाभावी गरिदिँदा सङ्कलनमा पनि कठिनाइ आइरहेको सफाइकर्मीको भनाइ छ । भान्छामै कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर नागरिक दायित्व पूरा भइदिए फोहर सङ्कलन र व्यवस्थापनमा कुनै समस्या नआउने दर्जीको बुझाइ छ ।

काम असमान्य, सुविधा सामान्य !

फोहोर सङ्कलन र व्यवस्थापनको काम निकै संवेदनशील हो । सफाइकर्मी विविध प्रकृतिको फोहरसँग दिनहुँ जुध्नुपर्छ । फोहोरबाट अनेकौँ रोगका सङ्क्रमण हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । सफाइ मजदूरले उचित सावधानी अपनाउनुपर्ने हुन्छ । व्यवसायजन्य रोगको सम्भावनालाई नकार्न सकिँदैन । सफाइकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था हुनुपर्छ । तर उपत्यकाका सफाइ श्रमिक सामान्य स्वास्थ्य सुरक्षाको प्रबन्धका बीच फोहर व्यवस्थापन गर्न बाध्य छन् ।

उपत्यकाभित्र काठमाडौँ महानगरपालिकाका सबैभन्दा धेरै सफाइ श्रमिक छन् । कामपामा सरकारी छ सय र निजी क्षेत्रका तीन हजार बढी सफाइकर्मी दिनरात नभनी सफाइमा जुटिरहेका छन् । तर उनीहरूले पाउने सेवा सुविधा भने सीमित छ । कामपाले फोहर व्यवस्थापनसँग सम्बन्धित कर्मचारीलाई स्थायी कर्मचारीसरहका सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । महानगरले त्यसबाहेक वार्षिक तीन महिनाको अतिरिक्त तलब उपलब्ध गराउँछ । फोहर व्यवस्थापनमा संलग्न सम्पूर्ण कर्मचारीको जीवन बीमासमेत गरिएको छ ।

उपत्यकाको फोहर व्यवस्थापनमा संलग्न निजी क्षेत्रमध्येको ठूलो कम्पनी नेप्सेम्याक सफाइ श्रमिकलाई उचित सेवासुविधा दिइएको दाबी गर्छ । नेप्सेम्याकका शाखा प्रबन्धक बाबुराम चौलागाई फोहोर सङ्कलनमा संलग्नलाई उचित पारिश्रमिकका साथै बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका दिइएको बताउनुहुन्छ । नेप्सेम्याकले त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराएको छ ।

त्यसका अतिरिक्त फोहर सङ्कलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुठ, पञ्जा, मास्कको व्यवस्था गरेको कामदार बताउँछन् । कर्मचारीलाई कम्तीमा मासिक रु २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा अतिरिक्त भत्ता दिन्छ ।

कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राखिदिए सङ्कटको बेलामा पनि कुहिने फोहर सङ्कलन गरेर लैजान सकिने र नकुहिने फोहोर दुई महिनासम्म घरमै राख्न सकिने चौलागाईंको भनाइ छ । नेप्सेम्याकले यसतर्फ काम गरिरहेको छ ।

सम्बन्धित पालिकाले नै ल्याण्डफिल साइडको व्यवस्था गरेर जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमूना बनाउन नागरिकलाई प्रेरित गरे फोहोर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल बनाएर खेतीबारी, कौशी खेती, फूलको गमलामा प्रयोग गर्न सकिन्छ । फोहरलाई मोहरमा रुपान्तरण गर्ने तालिम र प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारसँग समन्वय गरिरहेको उनले बताए ।

सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहोर छुट्याएर फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेका छन् । त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँचकिलो कम्पोष्ट मल निःशुल्क दिने गरेको र त्यही नमूनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ । भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहोरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारिएको छ ।

नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहर सङ्कलनमा ६९ जना, सडक सफाई गर्ने चार महिला र अन्य कर्मचारी गरी एक सयभन्दा बढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताए । नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा आठ हजार ६९, चाँगुनारायण नगरपालिकामा दुई हजार नौ सय ६९, मध्यपुरथिमि नगरपालिकामा तीन हजार नौ सय २४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार दुई सय घरबाट फोहर सङ्कलन गर्ने गरेको छ ।

नेप्सेम्याकले दैनिकरुपमा सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहर सङ्कलन गर्दै आएको छ । अन्य संस्थाले करिब ७० टन गरी दैनिक एक सय ५० टन फोहर सङ्कलन गर्दै आएका छन् । संस्थाले एक हजार तीन सय घरबाट छुट्टिएका कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने गरेको र मासिक आठ टन मल उत्पादन हुने गरेको उनी बताउँछन् । फोहर सङ्कलनका लागि प्रतिघरबाट सङ्ख्याको आधारमा मासिक रु दुई सय ५० देखि चार सय ५० सम्म शुल्क लिने गरेको छ ।

फोहर सङ्कलनमा निजीकै भर, नियमनमा कठिनाइ

उपत्यकाका अधिकांश नगर फोहोर सङ्कलनमा निजी क्षेत्रकै भरमा छन् । सबैभन्दा धेरै निजी क्षेत्रलाई सहभागिता गराएको काठमाडौँ महानगरपालिकाले फोहोर सङ्कलन गर्ने नीति क्षेत्रसँग कुनै सम्झौता गरेको छैन । सफाइसँग सम्बन्धित निजी क्षेत्रले आआफ्नै पहलमा क्षेत्र तोकेर फोहर सङ्कलन गर्ने गरेका छन् । सम्झौता नहुँदा ती संस्थाको कामकारबाहीको नियमनमा समस्या देखिएको छ ।

फूलबारीले सूर्यविनायक मध्यपुरथिमिबाट आठ हजार पाँच सय, स्वच्छ वातावरण सिर्जना केन्द्रले तीनवटै नपाबाट पाँच हजार पाँच सय, विन्दवासिनी स्यानेटेरी प्रालिले एक हजार एक सय, सिर्जनशील सेवा प्रालिले मध्यपुरथिमिबाट पाँच सय र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट दुई हजार घरबाट फोहर सङ्कलन गर्दै आएको छ । भक्तपुर जिल्लामा निजी कम्पनी र नगरपालिकाको फोहर सङ्कलक, कुचिकार र अन्य गरी करिब आठ सय मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको निजी कम्पनीको दाबी छ ।

मध्यपुरथिमि नगरपालिकाका सामाजिक सेवा शाखाका प्रमुख तुलसीभक्त तकोले मध्यपुरथिमिको फोहोर नेप्सम्याकलगायत संस्थाले सङ्कलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैँले पनि सङ्कलन गर्ने गरेको बताउनुहुन्छ । मध्यपुरमा चार पुरुष र १४ महिला गरि १८ जना सफाइ मजदुर र दुई जना फोहर सङ्कलक परिचालित छन् ।

सूर्यविनायक नगरपालिकाले भने निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको प्रवक्ता रवीन्द्र सापकोटाको भनाइ छ । चाँगुनारायण नगरपालिका पनि फोहोर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ । त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदुरको व्यवस्था गरेको छैन ।

भक्तपुर नगरपालिकाले भने कुचिकार र सफाइ मजदुरलाई कर्मचारीकै रुपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने र सङ्कलित फोहोर आफ्नै नगर क्षेत्रमा व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्