Logo
Logo

जब हामीले चार भन्ज्याङ काट्यौं…



जुनकिरीको प्रकाश जस्तो आफैले बोकेको अलिअलि मधुरो प्रकाश भए पनि निभ्ला कि भनी सम्हाल्दै, अलि–अलि बाँड्दै, अगाडि बढ्ने क्रमलाई जारी राख्यौं । एकपछि अर्को पाइला गर्दै, कुनै बेला घिस्रेरै भए पनि अगाडि बढिरह्यौँ ।

झोछेंका तीनजना केटीहरुले यसरी आफैँ उज्यालो बोकेर चारभन्ज्याङ नाघ्ने आँट गर्नु त्योबेलाको निम्ति नयाँ कुरा नै थियो । कुनै निश्चित नक्शा थिएन । कहिले बस, कहिले ट्रक चढ्दै थानकोट, नागढुंगा हुँदै ‘बाइरोड’को बाटो पार गर्ने साहस पनि त्यो समयको निम्ति चानचुने कुरा थिएन । यो अहिलेको कुरा हैन– झण्डै आधा शताब्दिको कुरा भइसक्यो ।

एक्लाएक्लै सात समुद्र पार गरेर पढाई वा कामका निम्ति संसारको जुनसुकै कुनामा पुगेर वर्षौँ एक्लै बस्नसक्ने यो जमानामा चारभन्ज्याङ नाघेको कुरा सुनाउँदा कतिलाई हाँस्यस्पद र वाहियात आत्मप्रशंसा गरेको जस्तो पनि लाग्नसक्छ । तर, त्योबेला उमेर नपुग्दै छोरीचेलीको बिहे गरिदिन हत्तार गर्ने अभिभावक र साँघुरो समाज भएका बेला घरबाट दुई पाइला मात्रै एक्लै हिंडेपछि नै अनेक बाधा घरैबाट सुरु हुन्थ्यो ।

आफ्नै घरमा अझै संघर्ष जारी नै थियो । त्यो बेला हाम्रानिम्ति ‘गर्छु या मर्छु’ भनी अगाडि बढ्नुको विकल्प पनि थिएन । जति सकिन्छ त्यति जसरी भए पनि अगाडि नबढे एक किसिमले आफै सिद्धिने बेला भैनै सकेको थियो– उमेर, अवस्था, मानसिकता र वातावरण सबैका कारण ।

हामी केटीहरुलाई मात्र होइन केटाहरुलाई पनि घर घरमा समस्या शुरु भइसकेको बेला थियो । हाम्रो अध्ययन समूहकै एक जागरुक असल साथी पुष्परत्न तुलाधरलाई अहिले सम्झिरहेछु । अहिले त यो संसारबाट पनि बिदा भइसके ।

उनलाई सम्झँदा, उनको सौम्य अनुहार र देशको निम्ति केही राम्रो काम गरेर अगाडि बढ्ने जाँगर सहितको भद्र युवा कसरी कहाँबाट कहाँ पुगे भन्ने सम्झँदा मन नमीठो हुन्छ ।

खासगरी महेश दाइले देश छोडेपछि उनी यति नराम्रोसँग डिप्रेशनमा गए कि एकताका त मुखबाट शब्द निकाल्नसम्म पनि छोडिदिएका थिए । हुँदाहुदै ‘द्योमा’ भनेर चिनिने एक ‘माताजी’को निकट पुगे ।

यो कुरा न उनको घरलाई सुपाच्य थियो, न हामी ‘क्रान्तिकारी’ साथीहरुलाई । निक्कै पछि फेरि घर व्यवहारमा फर्केर राम्रो काम कमाइ गरिरहेकै बेला, परिवार पनि राम्रो र सुमधुर भइसकेपछि मुटुको रोगका कारण एक्कासि बिते ।

दुःख लाग्छ अझै ती दिनहरुलाई सम्झदा । उनकै भाइ सुरेन्द्र तुलाधर त्यतिबेला मैले काम गर्ने अँध्यारो बस्तिमै एक संगठकको रुपमा सक्रिय भइ नै रहे– निकै पछिसम्म पनि ।

माथीका सम्बन्धका तारहरु चुँडिइसकेपनि उनको अनुहारमा तेज कहिल्यै धमिलो भएन । उनी पनि एक अत्यन्त भद्र समर्पित युवा, शान्त प्रकृतिका, असल क्रान्तिकारी नै थिए । पछिसम्मै भने उनी पनि हिंड्न सकेनन् ।

त्यो बेलाका साथीहरुको त्याग तपस्यालाई अहिले मूल्याकन गर्ने कसले ? यो त अचानक कतैबाट उम्रेका नयाँ ‘त्यागी’हरुको ‘त्याग’ बिक्ने अचम्मको बेला हो !

साँच्चै नेतृत्व गर्न अझै सक्षम भइसकेका थिएनौँ हामी, हाम्रो मार्गदर्शक कोही छैन भनी साथीहरुलाई थाह दिन मिल्दैनथ्यो । थाहापाए त्यस्तो निराशा आउनेरहेछ साथीहरुमा भन्ने कुरा बुझिसकेका थियौँ । संगै हिंड्ने पूर्णशोभालाई समेत निक्कै पछि मात्र थाहादिने आँट गरें ।

त्यो बेलाका असल साथीहरुमध्येका– नृपेन्द्र मास्के बालाजुको औद्योगिक क्षेत्रमा काम गर्थे, अलि अगाडिबाटै । प्रणय मानन्धर राम्रो इन्जिनियर बन्ने सम्भावना बोकेको युवा पढाई छोडेर त्योबेलाको ‘बाँसबारीको छालाजुत्ता कारखाना’मा काम गर्न थाले । उनी पनि एक सम्पन्न परिवारकै छोरा थिए– भद्र, देशको भविष्यको निम्ति भनी पढाइ त्याग गरेर अगाडि बढ्नेहरु मध्येका ।

त्यसैगरी पढाइ छोडेर, आफ्नो ‘सर्वहाराकरण’ गर्दै अघि बढ्ने कमला श्रेष्ठ, सुभद्रा कोइराला जस्तै साथी धेरै थिए । पूर्णशोभा, सुशीला बज्राचार्य त्यो बेला हाम्रो बीचका मेधावी विद्यार्थीहरु थिए । सुशीलाले भने माथिबाट तार चुँडिएको चाल पाए पछि फेरि आफ्नो पढाइलाई अगाडि बढाइन् । उनको निकटता अन्य संगठनका मित्रहरुसँग पनि बढ्न थाल्यो ।

देशकै एकजना असल कर्मठ बुद्धिजीवी शशी शेरचनसँग निकट हुन थालिन् । उबेलाका तिनै शशी शेरचन पछि स्वनाम साथीका रूपमा विख्यात भए । उनलाई डेढ वर्षअघि मात्र कोभिडले लग्यो । सुशीला भने निकै अघि नै विदेशतिर लागिसकेकी थिइन् । सुमित्रा जोशी, लक्ष्मी मानन्धर, नानीबाबा, शारदा मानन्धर आदि सबै त्यही अध्ययन समूहमा आवद्ध थिए ।

हामीभन्दा अलि पाका मिलन तुलाधरको पनि विशेष भूमिका थियो । कवीन्द्र रिमाल, उत्तम मानन्धर साथै अन्य कतिपय नामहरु त्यो बेलादेखि नै सक्रियतापूर्वक लागेकाहरु हुन् । अप्ठेरो परिस्थितिमा विस्तारै ओझेल पर्दै पनि गए कति ।

गाउँ घुम्ने क्रमका कति साथीहरु पछिसम्म पनि साथै रहयौँ । विभिन्न ठाउँमा पुग्दाको स्मरण र अनुभवहरु अनेक छन् । शून्य ठाउँमा बाटो बनाउँदै जानु सजिलो त पक्कै थिएन । कतै जंगलको बाटो गर्दै बाघभालुको डरले त्रस्त हुनुपरेको अनुभव पनि छ । कतै भीरको बाटोमा एकले अर्कोको काँधमा टेकाएर पार लगाएको बेलाको पनि सम्झना छ ।

एकपल्ट प्रणयको काँधमा टेकेर पालै पालो कति साथीले भीर नाघेका छौँ । कतै कतै शहरका केटीहरु देखेर गाविसकै प्रधानपञ्चबाट समेत दुव्र्यवहार हुनसक्ने सम्भावनाको नजिक पनि पुगेका थियौँ । अनेक नाटक गरेर आफैले तर्साएर गाउँबाटै भाग्नु परेको थियो ।

धेरै कथा छन्– रमाइला, नरमाइला र खतरापूर्ण … ।
तीमध्ये सबैभन्दा साहसपूर्ण यात्रा भने कहिल्यै थानकोट ननाघेका तीनजना केटीहरु कुनै केटाहरुको सहयोग बिना आफ्नै योजनाको ‘शैक्षिक भ्रमण’मा बाहिर निस्कनु थियो ।

त्यो एउटा खतरा मोलेर हिंडेको भए पनि गज्जबको रोमान्चक यात्रा थियो । ‘क्रान्तिकारी रोमान्टिसिज्म’ भनेको शायद त्यही होला । आफ्नै निम्ति त्यो एउटा ‘ब्रेक–थ्रु’ थियो नै । बहिनी र छोरी पुस्ताका केटीहरुको निम्ति पनि पर्खाल तोड्ने काम पनि भयो भन्ने लाग्छ ।

कुनै ठाउँमा ‘नर्स’, कुनै ठाउँमा त्यस्तै केहीभनेर आफूलाई चिनाउँदै, अनेक नाटक खेल्दै महिलाहरुलाई आइपर्ने विविध समस्याहरुबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनुभव गर्दै बाँड्दै अगाडि बढ्यौँ ।

पछि पार्टीहरु खुला भइसकेपछि आजको जस्तो ‘राजमार्ग’मा हिँड्नुभन्दा बिल्कुलै अलग यात्रा थियो त्यो । अहिलेको सजिलो मार्गमा हिँडेर आएका ‘नेता’हरु गजक्क परेर ‘मैले पो गरेको, उहाँले के गर्नु भा’छ र ?’ भनेको सुन्दा हाँसो पनि उठ्छ ।

हामी जिउँदै हुँदा त यस्तो भन्छन् भने भोलि हामी बितिसकेपछि साँचो इतिहास कहाँ, कति रहला र भन्ने सम्झँदा केही दुःख पनि लाग्छ । तर जब हामीले बनाएको बाटोमा धेरै हिँडिरहेका छन् भन्ने कुराको सम्झना हुन्छ– आफूले बाँचेको जीवनप्रति सन्तोष पनि लाग्छ ।

प्रतिक्रिया दिनुहोस्