Logo
Logo

नरेन्द्र श्रेष्ठ एन्फा मानार्थ अध्यक्ष चयन



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष चयन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कार्यालयमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो । यस्तै बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ भने एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।

यसैगरी, आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई एक खेलका लागि नियुक्त गरेको छ । अमेरिका बस्दै आउनुभएका हुमागाई केही वर्षअघि थ्रिस्टार क्लबको प्रशिक्षक थिए ।

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा नै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरिएको छ । च्याम्पियनसिपका भिआइपीतर्फ रु पाँच सय र साधारणतर्फ रु तीन सय तोकिएको छ । उक्त प्रतियोगिताको दिउँसो एक बजे र साँझ ५ः३० बजे खेल खेलाउने निर्णय भएको छ ।

कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा आगामी असोज १२ गते गर्ने निर्णय गरेको छ । यसैगरी पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्त गरेको छ ।

बैठकले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी एन्फा महासचिव किरण राईलाई दिएको छ । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने बैठकले निर्णय गरेको छ । एनएसएल आगामी असोज २३ गतेदेखि मङ्सिर दुई गतेसम्म सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

बैठकले एनएसएससँगको त्रुटिपूर्ण सम्झौता खारेज गर्न र सम्झौता नवीकरण गर्न एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्