Logo
Logo
कला

‘गायिका बन्ने इच्छाले नर्सिङको पढाइ छाडेँ’



गायिका टिका प्रसाइँ भन्नेवित्तिकै दर्शक तथा श्रोताले सम्झिने गीत हो, ‘माया लुकी लुकी’ । टिकाका यस्ता दर्जनौँ गीत लोकप्रिय छन् । ‘नाइँ मलाई थाहा छैन’ होस् वा ‘शेल्फीको जमाना’ नै किन नहोस् टिकालाई सझाइरहने गीतहरु हुन् । गायिका टिका लागि ‘माया लुकी लुकी’ सिग्नेचर गीत बनेको छ । जुन गीतको रेकर्डलाई तोड्ने सिंगल ट्रयाकका गीत आएको छैन ।

रियालिटी शो ‘तिम्रो सुर मेरा गीत’ र ‘नेपाली तारा’मार्फत सांगीतिक दुनियाँमा छाएकी टिका ‘भर्सटायल गायिका’का रुपमा चिनिन्छिन् । तीन सयभन्दा बढी नेपाली फिल्म गरी पाँच सय बढी गीतमा स्वर दिइसकेकी झापा तोपगाँक्षीकी गायिका टिका भन्छिन्, ‘लोकगीतदेखि रोनाधोनासम्म गाएकी छु ।’ भजन गाएर सांगीतिक क्षेत्रमा श्रीगणेश गरेकी ‘भर्सटायल गायिका’ टिका प्रसाइँसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । रेकर्डिङ, म्युजिक भिडियो र कार्यक्रमहरुमा व्यस्त छु । भर्खरै एउटा तीज गीत ल्याएकी छु । ‘चलेछ मगमग बासना’ बोलको उक्त गीत युट्युबमा आइसकेको छ ।

पहिले पनि तीज गीत गाउनुहुन्थ्यो कि यसपाली मात्र ?
पहिले गाउँदिन थिएँ । तीज गीत गाउन थालेको ६/७ वर्ष भयो । तीजका कार्यक्रमहरुमा धेरै अफर आउन थालेपछि गाउन सुरु गरेकी हुँ ।

यसपालीको तीजको योजना के छ ?
यसपालीको तीजमा विदेशमा हुनेछु । नेपालमै पनि तीज कार्यक्रमका लागि कुरा भइरहेको छ । तर, मैले विदेशका लागि ‘ओके’ गरिसकेकी छु । त्यसैले कोरोना संकट आएन भने मेरो तीज विदेशमै हुनेछ ।

तपाइँका अधिकांश गीत चर्चित छन् । तर, कम चर्चा किन ?
चर्चामा आउनका लागि भाइरल हुनुप¥यो । भाइरल हुनेतिर मेरो ध्यान गएको छैन । अर्को कुरा, चलेको मिडियाले नखोजेर पनि होला । मलाई चाहिँ ठूला र सानो मिडिया भनेर छुट्याउँदिन । सबै मिडिया उस्तै हो जस्तो लाग्छ । त्यसैले जुनै मिडियाले बोलाएपनि उपस्थित भएकी हुन्छु ।

मिडियाहरु भाइरल कन्टेन्टतिर लाग्दा राम्रा कलाकार ओझेलमा परेका हुन् ?
त्यसो त भन्न मिल्दैन । मिडिया अर्थात युट्युबरहरु राम्रो कन्टेन्ट खोज्दै गाउँगाउँसम्म रिमोट एरियामा पनि पुगेका छन् । मिडिया भनेका कला र प्रतिभा चिनाउने माध्यम हो । त्यसमा युट्युबरहरुले राम्रो काम पनि गरेका छन् । मुख्य कुरा म मेनस्ट्रिमका मिडियाले खोज्ने स्थानमा नपुगेर होला । काम गरेअनुसार चिनिन सकेकी छैन ।

सांगीतिक क्षेत्रमा संघर्ष गर्नुभएको कति भयो ?
संघर्ष त अझै चलिरहेको छ । गीतसंगीत क्षेत्रमा सधै संघर्ष नै संघर्ष हुन्छ । म गायन क्षेत्रमा लागेको चाहिँ २०५८ सालमा हो । हिसाब गर्दा दुई दशक पूरा भयो ।

तपाइँ रियालिटी शोमार्फत गायनमा चिनिनुभएको हो ?
रियालिटी शोमार्फत नै भन्नुपर्ला । रियालिटी शोमा आउनुअघि पनि गाउँथेँ । तर, जब ‘तिम्रो सुर मेरो गीत’ र ‘नेपाली तारा’मा सहभागी भएँ, त्यसपछि गायिका टिका प्रसाइँका रुपमा चिनिएकी हुँ । ‘तिम्रो सुर मेरो गीत’को वीनर पनि हुँ म ।

तपाइँले गायन अँगाल्दा एल्बमको जमाना थियो । तपाइँको पहिलो एल्बम कुन हो ?
‘मेलोडी’ हो । तर, मैले गायन अँगालेको १२ वर्षपछिमात्र एल्बम ल्याएँ । त्यसभन्दा अगाडि फिल्म र कलेक्शन एल्बमहरुमा व्यस्त भएँ । एल्बम ल्याउनु अगाडि नै मैले गाएका गीतहरु चलिसकेको थियो ।

एल्बम निकाल्न किन १२ वर्ष लाग्यो ?
गायन सुरु गरेसँगै फिल्म र कलेक्शन एल्बमका गीत गाउन व्यस्त भएँ । अर्को कुरा एल्बम निकाल्न पैसा चाहिने । म काठमाडौं बाहिरको मान्छे । यहाँ आफूलाई टिकाउनमै ठिक्क भयो । त्यही भएर ढिलो भएको हो ।

‘माया लुकी लुकी’ गाएपछि तपाइँको करिअरले टर्निङ लियो होइन त ?
उक्त गीतले मलाई थप चिनायो । त्यसअघि युट्युब जमाना आएसँगै ‘नाइँ मलाई थाहा छैन’ ‘तमलाई चट्ट सलाम छ’ जस्ता गीतहरु एकदमै रुचाइयो । त्यसपछि नै मैले ‘माया लुकी लुकी’ गाएकी हुँ । यो गीतले रेकर्ड बे्रक गरेको छ । अहिले पनि युट्युबमा यसको रेकर्ड तोड्ने आधुनिक गीत आएको छैन । यो गीत हिट भएपछि कार्यक्रमका लागि देश–विदेशबाट अफर आउन थाल्यो । अहिले पनि आइरहेको छ ।

तपाइँ बढी फिल्मका गीत गाउनुहुन्छ होइन ?
कुनै समय फिल्मका गीत बढी गाएँ । अहिलेचाहिँ अलि कम गाउँदै आएकी छु। आफ्नै पोजेक्टको कामहरुले गर्दा कम भएको हो ।

अहिलेसम्म कति फिल्ममा गाउनुभयो ?
तीन सयभन्दा बढी फिल्ममा गाएकी छु । फिल्मकै गीत गाएर सांगीतिक क्षेत्रमा पाइला राखेकी हुँ । मैले पहिलोपटक रेकर्ड गरेको भजन हो । भजन गाएलगत्तै मैले फिल्ममा गाउने अवसर पाएँ । त्यसका लागि म माग्यमानी पनि हुँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
पाँच यसभन्दा बढी भयो । मैले सबै प्रकारका गीत गाएकी छु । लोकगीतदेखि रोनाधोनासम्म (स्याड) गाएकी छु ।

पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?
गायिका बन्नकै लागि काठमाडौं आएकी हुँ । मलाई सानैदेखि गायनमा रुची थियो । गायिका बन्ने इच्छाले नर्सिङको पढाइसमेत छाडेकी हुँ । मलाई नर्सिङ पढ्न आमाबुबाले भारत पठाउनु भएको थियो । तर, मलाई जसरी पनि गायिका बन्ने इच्छा थियो । त्यसैले २० दिन बसेर गायिका नै बन्छु भनेर फर्केा ।

आफ्नो गायनबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । जन्मेर जे काम गर्छु भन्ने सोचेकी थिएँ, त्यही क्षेत्रमा रमाउन पाएकी छु । गायन क्षेत्रमा रमाउन पाउँदा खुसी पनि छु ।

गायिका टिकाको माया लुकी लुकी गीतको भिडियो :

प्रतिक्रिया दिनुहोस्