महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संकटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ ।
बासस्थानको सम्भावना राम्रो देखिएपछि २०६९ भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखानाबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको थियो । २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट ल्याइएको थियो ।

पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए । निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि ४ किमि उत्तरमा रहेको हिरापुरफाँटामा ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताका अनुसार शुक्लाफाँटामा २ सय १ कृष्णसार छन् । ‘संख्या ह्वात्तै बढ्नुले शुक्लाफाँटा कृष्णसारका लागि राम्रो बासस्थान हो भन्ने प्रष्ट हुन्छ’, प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘तोकिएको क्षेत्रफल कृष्णसारका लागि अपुग भयो ।’
कृष्णसारको व्यवस्थापनका लागि विभागले ‘रिलिज प्लान’बारे स्वीकृति गर्नुपर्ने मेहताले बताए । ५८.८ हेक्टरमा कृष्णसारको बासस्थानका लागि तारबार गरिएको छ । सुरुआतमा १७ हेक्टर क्षेत्र छुट्टयाइएको थियो ।
विश्वमै थोरै संख्यामा रहेका संकटापन्न कृष्णसारका लागि यहाँको बासस्थान उपयुक्त देखिएको निकुञ्जले जनाएको छ । पर्यटकको सहज आवागमनका निम्ति हिरापुर फाँटासम्म सडक ग्राभेल गरिएको छ । त्यहाँ कृष्णसार हेर्न मचानसमेत निर्माण गरिएका छन् ।
उक्त क्षेत्रमा कर्मचारी निवास निर्माणका साथै सोलारसमेत जडान गरिएको छ । देशभर कृष्णसारको संख्या कम भएकाले तीनलाई जोगाउन यहाँ स्थानान्तरण गरिएको मेहताले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो । जसका लागि ४ वर्ष अध्ययन गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचीकृत कृष्णसार नेपालमा सबैभन्दा बढी बर्दियाको खैरापुरमा छन् । कृष्णसार यसअघि नेपालगञ्ज, ललितपुरको सदर चिडियाखान र बर्दियाको खैरापुरसँगै काठमाडौँको मृगस्थलीमा मात्रै रहेका थिए ।
घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने भाले कृष्णसार कालो र पोथी खैरो रङको हुन्छ । यसले मृग प्रजाति झैँ ६÷६ महिनामा बच्चा जन्माउने गर्छ । वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो नै हुन्छ । शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडा तथा ४ सयभन्दा बढी प्रजातिका चराचुरुंगी छन् ।
३ सय ५ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा ५५ वर्गकिलोमिटरमा घाँसे मैदान छ । उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो ।