Logo
Logo
नागरिकता विधेयक

एमालेद्वारा सर्वदलीय बैठक बोलाउन माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयकमाथि सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक माग गरेको छ ।

नागरिकता ऐन संशोधनमा पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने एमालेको अडान छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् ।

बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरे । राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने उनीहरुको भनाइ छ ।

‘यसलाई समितिमा लैजाऔं, छलफल गरौं, बहुमत अल्पमतले निर्णय गर्न मिलिहाल्छ । बहुमतले नै पास गर्नुहोला तर कम्तीमा छलफल होस्’ भट्टराईले भने । पुनर्विचारका लागि भनेर आइसकेपछि राष्ट्रपतिको मान राखिदिन पनि समितिमा छलफलका लागि लैजानुपर्ने उनको भनाइ थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।
तर, राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

सोहीअनुसार आजको प्रतिनिधि सभा बैठकबाट विधेयक पारित गर्ने र आवश्यक प्रक्रिया पूरा गरी पुनः राष्ट्रपतिकहाँ पठाउने सत्ता गठनबन्धनका दलहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्