काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन माग गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गराएका थिए । जसमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख सापकोटाले जानकारी गराए ।
संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।














