
काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले जितेको छ । गएराति सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध ७ विकेटको जित निकाल्दै १ खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।
पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । १ सय ८७ रनको लक्ष्य पाकिस्तानले ३३.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि मोहम्मद रिजवान ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ६५ बलमा ७ चौकासहित ५७ रन बनाए ।
त्यसअघि हेजलारवेगमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८६ रन बनायो । उसका लागि बास डि लीडेले १ सय २० बलमा ३ छक्का र २ चौकासहित सर्वाधिक ८९ रन बनाए ।
पाकिस्तानका हरिस रौफ र महम्मद नवाजले ३/३, नशीम शाहले २ तथा सादब खान र मोहम्मद वसीमले १/१ विकेट हात पारे । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।