
काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको मध्यमेवा जलविद्युत आयोजना (७३.५ मेवा) को भूमिगत विद्युतगृहको गुफा निर्माण गरेकाे छ ।
६१.५ मिटर लम्बाइ, १५ मिटर चौडाइ, २७ मिटर उचाइ भएको गुफा ९ महिनामा सम्पन्न गरेको हो । सो क्याभनमा विद्युतगृह बनाई जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मेगवाट क्षमताका तीनवटा टर्वाइन जडान गरिनेछन् ।
सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारणलाइन लगायतका कार्यसमेत द्रुत गतिमा भइरहेको उल्लेख छ । सुख्खा याममा समेत ७३.५ मे.वा पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ ऊर्जा उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाको निर्माण सम्पन्न पश्चात वार्षिक ४३ करोड ६० लाख विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्ने मेवा डेभलपर्सले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको औसत विद्युत खरिद मूल्य प्रतियुनिट ६.१३ रुपैयाँका हिसाबले मध्य मेवाले न्यूनतम २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ आम्दानी गर्नेछ ।
डेभलपर्स, निर्माण व्यवसायी, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीलगायत सहयोग गर्ने सबैलाई कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारीले धन्यवाद दिए ।