Logo
Logo

रासन घोटालामा मुछिएका एसपी काठमाडौं तानिए



काठमाडौं । सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । सशस्त्र प्रहरी संगठनले उनलाई जिम्मेवारीबाट हटाएको हो ।

आफू मातहतका सुरक्षाकर्मीलाई विदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेपछि एसपी विष्टको जिम्मेवारी खोसिएको सशस्त्र प्रहरी संगठनले जनाएको छ ।

सशस्त्र प्रहरी बद नेपाल, नम्बर-७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डीआइजी दुर्गा भट्टराईका अनुसार ४४ नम्बर गणका गणपति विष्टले एकैपटका धेरै कर्मचारीलाई विदामा पठाएको कागजात फेला परेको छ । आवश्यक छानविनका लागि उनलाई हेडक्वाटर तानिएको जानकारी दिए ।

उनीमाथिको आरोप छानविन गरी कारबाहीको लागि जिम्मेवारी मुक्त गरिएको हो । उनीविरुद्ध लागेको आरोप विषयमा छानबिन भइरहेको जनाइएको छ । ‘विष्टले रासनमा अनियमितता गरे भन्ने आरोप छ । तर पुष्टि भएको छैन । गणले बुझाएको कागजातमा २३९ मध्ये १४५ जनालाई विदा दिइएको प्रमाण भने भेटिएको छ,’ डीआइजी भट्टराईले भने ।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एकपटकमा विदामा छाड्न सकिने प्रावधान छ । तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई विदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको आरोप लागेको छ । राशन तथा विदामा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको छ । समितिले एसपी विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो ।

यसअघि एसपी विष्टले राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो । हालः उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् ।

साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ । राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो । तर, हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए ।

सञ्चारमाध्यमलाई सूचना दिएको भन्दै हवल्दार नरेशसिंह विरुद्ध सशस्त्र प्रहरी विशेष अदालतमा गत असार २२ गते मुद्दा दायर गरिएको थियो । असार २४ गते भएको थुनछेक बहसका क्रममा अदालतले उनलाई पुपक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

रासन र हाजीरीको मात्रै सूचना दिएका शाहुलाई नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आन्तरिक गोप्य सूचना तथा हातहतियार गोलीगठ्ठाको आन्तरिक जनशक्ति विवरण खुल्ने गरी सूचना प्रकाशित गर्न लगाइएको भन्दै विशेष अदालतमा अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा सर्वस्वसहित जन्मकैदको माग गरिएको छ ।

संगठनभित्रकै कमजोरी र रासन रोगको भण्डाफोर गर्ने हवल्दारविरुद्ध संगठन लागेर जन्मकैदको माग गर्दै अभियोगपत्र दायर गरेपछि सशस्त्र प्रहरी संगठप्रति धेरैले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्