Logo
Logo

जब प्रज्ञामा गुञ्जिए खोटाङ्गे कलाकार (फोटो फिचरसहित)



काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगण शनिबार खोटाङ्गे कलाकारमय बन्यो । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईदेखि अहिले संघर्ष गरिहेका कलाकारसम्म त्यहाँ भेटिए । खोटाङ्गे कलाकारको प्रस्तुतीले झण्डै झण्डै सात घण्टा प्रज्ञा भवन गुञ्जायमा बन्यो ।

‘खोटाङ सांगीतिक साँझ–२०७९’ शनिबार भव्यका साथ सम्पन्न भएको छ । खोटाङ कलाकार समाजद्वारा आयोजित कार्यक्रममा झण्डै तीन दर्जन खोटाङ्गे कलाकारले आफ्नो दमदार प्रस्तुती दिएका थिए । खोटाङ कलाकार समाजले पहिलोपटक खोटाङ्गे कलाकारलाई काठमाडौंमा एउटै मञ्चमा उतारेको हो ।

‘खोटाङ कलाकार कल्याकारी कोष निर्माणर्थ’ आयोजित कार्यक्रममा खोटाङ्गेबाहेक अन्य कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । तर, प्रस्तुती भने खोटाङ्गे कलाकारले मात्र दिएका थिए ।

कार्यक्रममा राजेशपायलले ‘किन यति धेरै माया लाग्छ नि हो’ गाउँदा हल दर्शकको तालीले गुञ्जायममा बनेको थियो । कार्यक्रमको अन्त्यतिर प्रस्तुती दिएका राजेशपायले उक्त गीत गाउँदा मोडल अलिशा राईलाई स्टेजमा ‘डार्लिङ’ भन्दै निम्ताएपछि दर्शकदीर्घामा रौनकता थपिएको थियो ।

राजेशपायलले प्रस्तुती दिनअघि झण्डै दु्ई दर्जन कलाकारले स्टेज तताइसकेका थिए । गायिका अनिला राई पनि स्टेज तताउन सफल भइन् । हालैमात्र एल्बम निकाल्न बेलायतबाट नेपाल आएकी अनिलाले आफ्नो चर्चित गीत फिल्म ‘बिरविक्रम–२’को ‘टलटल टल्किने’ गीत गाएकी थिइन् । उतm युगल गीतमा अनिलालाई गायक तथा संगीतकार विक्रम राईले स्वरमा साथ दिएका थिए । उक्त गीतमा मेल भ्वाइस राजेशपायलको भएपनि ढिलो आएकाले अनिलालाई स्वरमा विक्रमले साथ दिएका हुन् । अनिलाको सातौँ एल्बम ‘एन्जेलिना’ यसै साता आउँदैछ ।

यस्तै, कार्यक्रममा रोशन राईको प्रस्तुती दम्दार थियो । उनले आफ्नै जिल्ला चिनाउने ‘खोटाङ मेरो गाउँ’ बोलको गीत गाएका थिए । जुन गीत खोटाङ जिल्लालाई चिनाउने सिग्नेचर गीत बनेको छ । उक्त गीत स्टेजमा प्रस्तुत गर्दा रोशनले वाहवाही पाएका थिए ।

कार्यक्रममा धिरज राई, महेश खड्का, शशि गुरुङ, सत्यकला राई, पार्वती राई, कन्काइस्ट राई, कला राई, राधा राई, मनिता राई चाम्लिङ, विक्रम राई, सुमन सरगम, मीना राई, मेनुका राई, वविना किराती, राजेश राई, लोकेश राई, निश्चल राई, केवी राई, धर्मराज पोखरेल, मनमाधी राई, सन्तोष दुमी, दिपेश राई, रश्मी राई, विकाश संगम, प्रवृति राई, सचिन राई, केशव भावुक, सिर्जना राईलगायतका गायक÷गायिकाले गीतसंगीत पस्केका थिए । उनीहरुलाई दुई दर्जन वाद्यवादकले म्युजिकमा साथ दिएका थिए । साथै, कार्यक्रममा नृत्य तथा प्रहसन पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सोचेभन्दा राम्रो भएको खोटाङ कलाकार समाजका अध्यक्ष तथा गायक रुपकुमार राईले बताए । उनले छोटो समयमै खोटाङ्गे कलाकारलाई एउटै स्टेजमा जम्मा पार्न खोटाङ कलाकार समाज सफल भएको बताए । उनले भने, ‘यो हाम्रो पहिलो प्रयास हो, छोटो समयमै यो प्रयासलाई सफल बनाएका छौँ ।’ उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने कलाकार र सहयोगीहरुलाई धन्यवाद समेत दिए । अध्यक्षका राईका अनुसार कार्यक्रममा ४४ वटा प्रस्तुती भएको थियो ।

कार्यक्रममा भूपाल राई, शान्तिराम राई, शम्भु राईगायतको बरिष्ठ कलाकार तथा संगीतकारहरुको पनि सहभागिता रहेको थियो ।

‘यो कार्यक्रम सबैको साथ र सहयोगले सफल भएको हो’ अध्यक्ष राईले भने, ‘यो कार्यक्रमले खोटाङ्गे कलाकारमा एकता रहेछ भन्ने सन्देश दिएको छ । कार्यक्रममा राजेशपायल राई खोटाङ कलाकार समाजको कल्याणकारी कोषलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्